पेरुले पूर्वप्रधानमन्त्री बेट्सी चाभेजलाई शरण दिएको आरोप लगाउँदै मेक्सिकोसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ। कथित ‘कू’ प्रयासको आरोपमा मुद्दा खेपिरहेकी चाभेज पेरुस्थित मेक्सिकन दूतावासमा भागेपछि सोमबार यो कदम चालिएको हो।
पेरुका विदेशमन्त्री ह्युगो डे जेलाले पत्रकार सम्मेलनमा ‘आज हामीले आश्चर्य र गहिरो अफसोसका साथ थाहा पायौं कि पूर्व राष्ट्रपति पेड्रो कास्टिलोको कू प्रयासका कथित सह लेखक बेट्सी चाभेजलाई पेरुस्थित मेक्सिकन दूतावासको निवासमा शरण दिइएको छ।’ भनेका छन्।
उनले मेक्सिकोको यो कार्यलाई अमित्रतापूर्ण भन्दै मेक्सिकोका वर्तमान तथा पूर्व राष्ट्रपतिहरूले पेरुको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गरेको घटनालाई ध्यानमा राख्दै पेरु सरकारले मेक्सिकोसँग कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको बताएका छन्। यस सम्बन्धमा मेक्सिकोबाट कुनै टिप्पणी आएको छैन।
पूर्व प्रधानमन्त्री चाभेजले पूर्व राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा काम गरेकी थिइन्, जसलाई सन् २०२२ को डिसेम्बरमा कांग्रेस विघटन गर्ने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोग लगाएका थिए। महाभियोगपछि कास्टिलोलाई विद्रोह र अख्तियारको दुरुपयोगको आरोपमा लिमास्थित मेक्सिकन दूतावास जाने क्रममा पक्राउ गरिएको थियो। चाभेजलाई पनि उनीसँगै अभियोग लगाइएको थियो। कास्टिलो महाअभियोग लागेदेखि निवारक हिरासतमा छन्, भने चाभेज सेप्टेम्बर २०२४ मा जमानतमा रिहा भएकी थिइन्।
फेब्रुअरी २०२३ तत्कालीन राष्ट्रपति डिना बोलुआर्टेले मेक्सिकोका तत्कालीन वामपन्थी राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरलाई कास्टिलोलाई समर्थन व्यक्त गरी आफ्नो देशको मामिलामा हस्तक्षेप गरेको आरोप लगाएर मेक्सिको सिटीका लागि पेरुका राजदूतलाई अस्थायी रूपमा फिर्ता बोलाएकी थिइन्।
पेरुको पहिलो गरिब राष्ट्रपति भनेर चिनिने पूर्व ग्रामीण स्कूल शिक्षक र ट्रेड युनियनवादी कास्टिलोको सत्ताच्युतीपछि पेरु र मेक्सिकोबीचको कूटनीतिक सम्बन्ध निरन्तर तनावपूर्ण रहँदै आएको छ। एजेन्सी
प्रकाशित: १८ कार्तिक २०८२ ०७:३७ मंगलबार


-600x400.jpg)


