मलेसियामा थाइल्याण्ड र कम्बोडियाबिच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ। कम्बोडियाका प्रधानमन्त्री हुन मानेट, थाइल्याण्डका प्रधानमन्त्री अनुरुटिन चार्नविराकुल, अमेरिकी राष्ट्रपति ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम समारोहमा सहभागी थिए।
जुलाईमा दुई देशको सीमामा पाँच दिनसम्म हिंसात्मक द्वन्द्व भएको थियो, जसमा दर्जनौँको मृत्यु भएको थियो र लाखौँले घर छोड्नुपरेको थियो।
ट्रम्पले समारोहमा भने, ‘यो धेरै रोमाञ्चक छ, किनकि हामीले धेरैले असम्भव ठानेको कुरा पूरा गर्यौँ। दुई महान् देशहरू, तैपनि तिनीहरू आपसमा झगडामा थिए। यो ऐतिहासिक कदम चालेकोमा म यी दुई साहसी नेताहरूलाई बधाई दिन चाहन्छु।’
उनले थपे, ‘मलाई सबैभन्दा खुसी लाग्ने कुरा के छ भने हामीले यो सम्झौतामा हस्ताक्षर गरिरहेका दुई देशहरू एक अर्कालाई साँच्चै मन पराउँछन्। म यस्तो परिस्थितिमा अभ्यस्त छैन। जब म यस्तो सम्झौता गर्छु, सामान्यतया धेरै शत्रुता हुन्छ।’
ट्रम्पले दुई नेताबिच गहिरो सम्मान रहेको बताए, जसले सम्झौतालाई सजिलो बनायो। उनले रुस र युक्रेनका नेताबिचको शत्रुतालाई उदाहरण दिँदै त्यहाँको अवस्था जटिल रहेको उल्लेख गरे।
आजदेखि मलेसियाको राजधानी क्वालालम्पुरमा आसियान शिखर सम्मेलन सुरु भएको छ। यो सम्मेलन व्यापार, सुरक्षा, शिक्षा र संस्कृतिका विषयमा छलफल गर्न १० दक्षिणपूर्वी एसियाली देशहरूको प्रमुख मञ्च हो। यस वर्षको विषय समावेशिता र दिगोपन हो। एजेन्सी
प्रकाशित: ९ कार्तिक २०८२ ११:२९ आइतबार





