पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल अहमद शरीफले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भने कि यदि अफगानिस्तानबाट पाकिस्तानमा घुसपैठ भयो भने युद्धविराम समाप्त मानिनेछ र त्यस्तो कुनै पनि आक्रमणको पूरा शक्तिसाथ प्रतिकार गरिनेछ।हालसम्म पाकिस्तान र अफगानिस्तानबीचको झडपमा २०६ अफगान तालिबान लडाकु र तहरीक–ए–तालिबान पाकिस्तानका ११० लडाकु मारिएका छन्।
मेजर जनरल शरीफले भने, ‘हामी सधैं आतंकवादविरुद्ध लड्दै आएका छौं।’ विभिन्न सरकारहरूको कार्यकालमा अफगानिस्तानसँग भएका आधिकारिक भ्रमणहरूको विवरण सार्वजनिक गर्दै उनले थपे, ‘हामी सरकारसँग कुरा गर्छौं, तर कुनै पनि उग्रवादी समूहसँग वार्ता गर्ने छैनौं।’
उनका अनुसार ‘सुरक्षा मागेर वा कसैलाई खुश पारेर प्राप्त हुने कुरा होइन।’शरीफले भने कि पाकिस्तानलाई आफ्नो रक्षा गर्ने अधिकार छ, र कुनै पनि आक्रमण भए पूर्ण शक्तिसाथ जवाफ दिइनेछ।
सैन्य प्रवक्ताका अनुसार अफगान तालिबानले कतार र टर्कीलाई मध्यस्थको भूमिका खेल्न आग्रह गरेको थियो। उनले दाबी गरे कि ती वार्ताहरूका क्रममा पाकिस्तानले अफगान भूमिबाट पाकिस्तानी क्षेत्रमा भएका आक्रमण र चरमपन्थी गतिविधिहरूका ठोस प्रमाणहरू प्रस्तुत गरेको छ।
शरीफले भने, ‘हामीले अफगानिस्तानलाई भनेका छौं, या त उनीहरूले ती आतंकवादीहरूविरुद्ध कारबाही गर्नुपर्छ वा तिनीहरूलाई हामीलाई सुम्पिनुपर्छ ताकि हामी तिनीहरूलाई न्यायको कठघरामा उभ्याउन सकौं।’
त्यससँगै उनले अफगान तालिबानको विचारधाराको आलोचना पनि गरे र भने कि ‘अफगानिस्तानमा महिलाहरूलाई शिक्षा प्राप्त गर्ने अनुमति दिइँदैन,’जुन कुरा अस्वीकार्य हो।
प्रकाशित: १८ कार्तिक २०८२ ११:१६ मंगलबार


-600x400.jpg)


