पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक एवं पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई तोशाखाना–२ भ्रष्टाचार मुद्दामा १७–१७ वर्षको सजाय सुनाइएको छ। पाकिस्तानको विशेष अदालतले शनिबार यो फैसला सुनाएको हो।
यो मुद्दा मे २०२१ मा इमरान खान प्रधानमन्त्री हुँदा साउदी राजकुमार मोहम्मद बिन सलमानबाट प्राप्त महँगो बुल्गारी गहना सेट (नेकलेस, ब्रेसलेट, रिङ र इयररिङ्स समावेश) सँग सम्बन्धित छ। यो सेटको बजार मूल्य सात करोड ५० लाख पाकिस्तानी रुपैयाँभन्दा बढी थियो।
तर खान दम्पतीले कम मूल्यांकन (लगभग ६० लाख रुपैयाँ) तोशाखानामा जम्मा नगरी खरिद गरेको आरोप छ। इमरानलाई जेलमा राखिएको रावलपिन्डीको अदियाला जेलमै भएको सुनुवाइमा विशेष न्यायाधीश शाहरुख अर्जुमन्दले यो फैसला सुनाएका हुन्।
साथै, प्रति व्यक्ति करिब एक करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना तोकिएको छ। जरिवाना नतिरे थप जेल सजाय हुने उल्लेख छ। अदालतको फैसलामा भनिएको छ, ‘यो अदालतले सजाय सुनाउँदा इमरान अहमद खान नियाजीको बढ्दो उमेर र बुशरा इमरान खान महिला भएको तथ्यलाई विचार गरेको छ। यी दुवै कारकहरूलाई ध्यानमा राखेर कम सजाय दिँदा उदार दृष्टिकोण अपनाइएको छ।’
पाकिस्तानी अखबार डनका अनुसार फैसलापछि इमरान र बुशराको कानुनी टोलीले यो फैसलालाई उच्च अदालतमा चुनौती दिने संकेत गरेको छ।
यस वर्षको सुरुमा इमरान र बुशरा बीबीले मुद्दामा लगाइएका सबै आरोपहरूलाई अस्वीकार गर्दै यसलाई राजनीतिक प्रतिशोध भनेका थिए। विशेष अदालतमा फौजदारी प्रक्रिया संहिताको धारा ३४२ अन्तर्गत बयान रेकर्ड गर्दै इमरानले अभियोजन पक्षको दाबीलाई खारेज गरेका थिए।
उनले सम्पूर्ण मुद्दा ‘दुर्भावनापूर्ण, बनावटी र राजनीतिक रूपमा प्रेरित’ भएको आरोप लगाएका थिए। खानले तोशाखाना नीति २०१८ अनुसार उचित प्रक्रिया पालना गरिएको दाबी गर्दै आएका छन्।
प्रकाशित: ५ पुस २०८२ १२:२८ शनिबार





