५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाक-अफगान द्वन्द्व : अस्थायी युद्धविराम गर्ने सहमति

पाकिस्तान र अफगानिस्तानबिच जारी घातक सीमा द्वन्द्वका बिच मुस्लिमहरूको महान पर्व ईद अल-फित्रको अवसरमा शत्रुतालाई अस्थायी रूपमा रोक्ने सहमति भएको छ।

साउदी अरब, कतार र टर्कीको अनुरोधमा पाकिस्तानले बिहीबार (आज) मध्यरातदेखि सोमबार मध्यरातसम्म यो अस्थायी विराम लागू गर्ने घोषणा गरेको छ। पाकिस्तान सरकारका सूचना तथा प्रसारणमन्त्री अत्ताउल्लाह तरारले यो जानकारी दिएका छन्। 

पाकिस्तानले यसलाई सद्भावको संकेत तथा इस्लामी मूल्यहरू अनुरूप भनेको छ। तर कुनै पनि सीमापार आक्रमण, ड्रोन हमला वा पाकिस्तानभित्र आतंकवादी घटना भएमा तुरुन्तै कडा सैन्य कारबाही पुनः सुरु गर्ने चेतावनी दिएको छ।

त्यसलगत्तै अफगानिस्तानको तालिबान सरकारले पनि पाकिस्तानविरुद्धका सैन्य कारबाहीहरू अस्थायी रूपमा स्थगित गर्ने पुष्टि गरेको छ। यो विराम ईद अल-फित्रको उत्सवलाई ध्यानमा राखेर गरिएको हो।

यो सहमति काबुलस्थित लागूऔषध उपचार केन्द्रमा भएको हवाई हमलाको आरोपपछि आएको हो। अफगान तालिबान सरकारले पाकिस्तानी हवाई हमलामा चार सयभन्दा बढी व्यक्तिको मृत्यु भएको दाबी गरेको थियो। पाकिस्तानले भने उक्त आरोपलाई प्रचार भन्दै अस्वीकार गरेको छ। उसले हमला आतंकवादी पूर्वाधार तथा सैन्य स्थानहरूलाई मात्र लक्षित गरिएको दाबी गरेको छ। 

संयुक्त राष्ट्रसंघको सहायता मिसन अनुसार सो घटनामा १३३ जनाको मृत्यु भएको छ।

गत फेब्रुअरीको अन्त्यदेखि डुरान्ड रेखामा दुई देशबिच वर्षौंपछिको सबैभन्दा तीव्र द्वन्द्व चलेको छ, जसमा क्रस-बोर्डर हवाई हमला, तोपखाना र झडपहरू समावेश छन्। यो द्वन्द्वलाई पाकिस्तानले 'खुला युद्ध' को रूपमा वर्णन गरेको थियो।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले द्वन्द्वले स्वास्थ्य प्रणाली र सर्वसाधारणको जीवन जोखिममा पारेको भन्दै शान्तिको अपिल गरेका छन्। उनले भनेका छन्, 'म सबै पक्षलाई तनाव कम गर्न र शान्ति तथा स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गर्दछु।'

कतारको विदेश मन्त्रालयले यो अस्थायी विरामलाई सकारात्मक संकेत भन्दै स्वागत गरेको छ। साउदी अरब र टर्कीले पनि यसलाई प्रशंसा गर्दै क्षेत्रीय शान्तिका लागि कूटनीतिक प्रयास जारी राख्ने बताएका छन्। यो विराम अस्थायी मात्र हो र दीर्घकालीन समाधानका लागि वार्ताको आवश्यकता रहेको विभिन्न पक्षहरूले जोड दिएका छन्। एजेन्सी 

प्रकाशित: ५ चैत्र २०८२ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App