सशस्त्र प्रहरीमा कार्यरत दुई डिआइजी (प्रहरी नायब महानिरीक्षक)हरूको पदावधि थप भएको छ।
चार वर्षे पदावधि सकिएर अनिवार्य अवकाशमा जान लाग्दा सरकारले सशस्त्र प्रहरी नियमावली अनुसार एक वर्ष पदावधि थप गरेको हो। गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको पदावधि थप गरिएको हो।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले साधारण समूहतर्फका डिआइजी लक्ष्मणबहादुर सिंह र प्रदीप पालको पदावधि थप भएपछि उनीहरू एक वर्ष पदमा रहने भएका छन्। उनीहरूमध्ये एक जना आउने वैशाखको अन्तिम साता एआइजी हुने सम्भावना पनि रहेको छ।
विगतको परम्परा अनुसार नै ती दुई डिआइजीको पदावधि थप भएको। सशस्त्र प्रहरी नियमावलीअनुसार डिआइजी पदको पदावधि चार वर्षको हुन्छ। यही प्रावधानअनुसार डिआइजीद्वय सिंह र पाल २०८२ चैत ५ गते अनिवार्य अवकाशमा जाने अवस्थामा थिए। पदावधि थप गर्ने वा नगर्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।
यसअघि पदावधि थपिने र नथपिने दुवै हुने गरेको छ। यसअघि कमल गिरी, गणेश ठाडा मगर, कुलप्रसाद नेम्वाङ, शम्भु सुवेदीको पदावधि थप भएको थियो। ती मध्ये एक जना अहिले ठाडा मगर एआइजी छन् भने अन्य तीन जनाको अनिवार्य अवकाश भैसकेको छ।
डिआइजीद्वय सिंह र पालले नेपाल प्रहरीको प्राविधिक सेवाबाट करिअर सुरु गरेका थिए। उनीहरू २०५४ चैत १८ गते प्राविधिक सई (कम्प्युटर अपरेटर) पदमा सेवा प्रवेश गरेका थिए। पछि सशस्त्र प्रहरी बल गठन भएपछि उनीहरू त्यही संगठनमा प्रवेश गरेर बढुवा हुँदै डिआइजीसम्म पुगेका हुन्।
सिंह र पालको पदावधि थप भएपछि सशस्त्र प्रहरीको सिं स. १ बाट डिआइजीहरूलाई भने अप्ठेरो भएको छ।
प्रकाशित: ५ चैत्र २०८२ १२:१३ बिहीबार




-600x400.jpg)
