रुसको संसदीय चुनावको अन्तिम दिन आइतबार युक्रेनले मस्को र आसपासका क्षेत्रमा १ हजार ६ सयभन्दा बढी ड्रोन आक्रमण गरेको रुसी अधिकारीहरूले बताएका छन्। तीमध्ये करिब ४५० ड्रोन मस्कोतर्फ लक्षित रहेको उनीहरूको दाबी छ।
रुसी अधिकारीहरूका अनुसार ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४४ वर्षीया महिला र एक वृद्ध पुरुष रहेको बताइएको छ।
मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार राजधानीमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा समेत ड्रोन आक्रमणबाट क्षति पुगेको छ। रिफाइनरीमा भने मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन्।
मस्कोमा एउटा २१ तले अपार्टमेन्ट भवनमा ड्रोन ठोक्किएपछि आगलागी भएको थियो। घटनापछि करिब ४ सय जनालाई भवनबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो। उद्धार गरिएकामध्ये करिब ७० जना बालबालिका रहेको बताइएको छ।
युक्रेन युद्धपछि पहिलो संसदीय चुनाव
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेपछि पहिलोपटक रुसमा संसदीय चुनाव भएको हो। शुक्रबारदेखि सुरु भएको मतदान आइतबार सम्पन्न भएको हो।
राष्ट्रपति भ्लादिमिर पुटिनले चुनावलाई युक्रेनमा लडिरहेका रुसी सेनाप्रति रहेको जनसमर्थन परीक्षण गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन्। रुसी पक्षले चुनावको परिणामलाई पुटिनको नीति तथा युक्रेन युद्धप्रतिको समर्थनका रूपमा प्रस्तुत गर्न सक्ने देखिन्छ।
प्रारम्भिक निर्वाचन परिणाम आइतबार राति सार्वजनिक हुने र सोमबारसम्ममा पूर्ण परिणाम आउने अपेक्षा गरिएको थियो।
चुनावमा हस्तक्षेप गरेको रुसको आरोप
रुसी अधिकारीहरूले युक्रेनमाथि निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। निर्वाचन अधिकारीहरूले मस्कोको अनलाइन मतदान प्रणाली साइबर आक्रमणबाट प्रभावित भएको बताएका छन्। यद्यपि, उक्त साइबर आक्रमणमा युक्रेनको संलग्नता रहेको स्वतन्त्र पुष्टि भएको छैन।
पुटिनले रुस नियन्त्रित जापोरिझिया क्षेत्रमा एक निर्वाचन अधिकारीको घरमा भएको आक्रमणलाई पनि चुनावमा हस्तक्षेपको प्रयासका रूपमा प्रस्तुत गरेका छन्।
पुटिनका अनुसार उक्त आक्रमणमा निर्वाचन अधिकारी एलेना अस्टानिनाको मृत्यु भएको थियो। तर, उनको मृत्यु र घटनामा युक्रेनको संलग्नताबारे स्वतन्त्र पुष्टि हुन नसकेको रोयटर्सले जनाएको छ।
प्रकाशित: ५ आश्विन २०८३ ०८:२५ सोमबार





