गाजामा युद्धका कारण उत्पन्न मानवीय संकट झनै गम्भीर बन्दै गएको सन्दर्भमा, इजरायलले केही सुरक्षित स्थलमार्गहरूबाट मानवीय सहायता सामग्री पठाउन अनुमति दिएको निर्णयलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ।
संयुक्त राष्ट्रसंघका आपतकालीन सहायता समन्वयक टम फ्लेचरले यो निर्णयप्रति सकारात्मक प्रतिक्रिया दिँदै, यो अवसरमा सयौं हजार भोकमरी पीडित नागरिकहरूसम्म सहायता पुर्याउने प्रयास गरिने बताए। उनले सामाजिक सञ्जालमार्फत भने, ‘गाजामा मानवीय सहायता पठाउने अनुमति दिइएको सूचना स्वागतयोग्य छ। हाम्रो टोली यथासम्भव धेरै मानिससम्म पुग्ने प्रयासमा जुटिरहेको छ।’
संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओचा) ले केही दिनअघि गाजाको अवस्था पहिले नै अत्यन्त भयानक रहेको र तीव्र गतिमा झनै खराब बन्दै गएको चेतावनी दिएको थियो। ओचाका अनुसार भोकमरी, कुपोषण र सरसफाइको अभावका कारण त्यहाँका नागरिकहरूमा रोगको जोखिम उच्च बनेको छ, जसले छिट्टै ज्यानै जाने अवस्था निम्त्याउन सक्छ। हाल गाजामा सीमित मात्रामा पुगिरहेको राहत सामग्री आवश्यकताको तुलनामा अत्यन्त न्यून रहेको ओचाले जनाएको छ।
ओचाले यदि इजरायलले सहायता सामग्री प्रवेशका लागि सीमा खुला गरिदियो भने इन्धन, उपकरण र कर्मचारीको सुरक्षित सञ्चालनको अनुमति प्रदान गर्यो भने, संयुक्त राष्ट्रसंघ तुरुन्तै खाना, स्वास्थ्य सेवा, पिउने पानी, फोहोर व्यवस्थापन, पोषण सामग्री तथा अस्थायी आश्रयका सामग्रीहरूको आपूर्ति तीव्र गतिमा पुर्याउने प्रष्ट पारेको छ। तथापि, पछिल्ला दिनहरूमा इजरायली सुरक्षाबलबाट लगाइएका विभिन्न रोकावटका कारण सहायता अभियानहरू प्रभावित भएका छन्। बिहीबार गरिएका १५ मध्ये केवल पाँच वटा मात्र सहायता अभियान सफलतापूर्वक सम्पन्न भएका थिए।
ओचाले हालै यस्तो आपतकालीन अवस्थालाई ध्यानमा राख्दै युद्धविरामको अवस्थामा तुरुन्त कार्यान्वयन गर्न मिल्ने विस्तृत सहायता आपूर्ति योजना समेत सार्वजनिक गरिसकेको छ। गाजामा लाखौं निर्दोष नागरिक गम्भीर संकटमा रहेका सन्दर्भमा संयुक्त राष्ट्रसंघले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न र सहायता पुर्याउने मार्ग खुला राख्न आग्रह गरेको छ। एएफपी
प्रकाशित: ११ श्रावण २०८२ २१:५५ आइतबार





