परम्परागत भारतीय मिठाईजस्तो देखिने बारुद भरिएको पिठोको डल्लो मुखमा विस्फोट हुँदा मध्यप्रदेशमा एक युवकको मृत्यु भएको छ।
प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो।
घटना मंगलबार डिन्डोरी जिल्लामा भएको थियो। आगो ताप्न भेला भएका बेला एक गाउँलेले ल्याएको ‘मिठाई’ अर्का व्यक्तिले बरौतियालाई दिएका थिए।
मुखमा राखेलगत्तै उक्त वस्तु विस्फोट भएको प्रहरी अधिकारी रेखा सिंहले बताइन्।
स्थानीय केही समुदायले जङ्गली सुँगुर मार्न पटाका वा खानीबाट प्राप्त बारुद पिठोका डल्लामा भरेर घरेलु बम बनाउने गरेका छन्। ती डल्ला चिनीको सिरपमा भिजाइने लोकप्रिय भारतीय मिठाई ‘रसगुल्ला’ जस्तै देखिने भएकाले झुक्किने सम्भावना हुन्छ।
गम्भीर घाइते बरौतियालाई अस्पताल लगिए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी लापरबाहीका कारण ज्यान गएको अभियोग लगाइएको छ।
घटना नियोजित हत्या थियो वा कसैले गरेको मजाकका क्रममा भएको दुर्घटना भन्ने विषय अनुसन्धान भइरहेको प्रहरी अधिकारी सिंहले बताइन्।एएफपी
प्रकाशित: २७ कार्तिक २०८३ १३:१६ शुक्रबार




-600x400.jpg)
-600x400.jpg)