२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अन्य

११८ वर्षदेखि एउटै जन्ममिति : पाँच पुस्ताको दुर्लभ संयोगले बन्यो विश्व कीर्तिमान

अमेरिकाको एक परिवारमा लगातार पाँच पुस्ताका सदस्य एउटै दिन जन्मिएको दुर्लभ संयोगले विश्व कीर्तिमान कायम गरेको छ। 

परिवारका कान्छा सदस्य आर्थर बेलको जन्मसँगै यो परिवारले गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएको हो।

सन् २०२५ सेप्टेम्बर १४ मा जन्मिएका आर्थरले आफ्नी आमा एम्मा बेल (१९९७), हजुरबुबा डोनाल्ड हार्लो (१९७२), जिजुआमा एडी हार्लो (१९४९) र खनाति हजुरबुबा विल्बर हार्लो (१९०७) सँग जन्मदिन साझा गरेका छन्।

यसअघि एउटै दिन जन्मिएका चार पुस्ताको विश्व कीर्तिमान सात परिवारले संयुक्त रूपमा राखेका थिए। आर्थरको जन्मपछि भने उनको परिवार एउटै जन्ममिति साझा गर्ने पाँच पुस्ताको एकमात्र कीर्तिमानधारी बनेको छ।

परिवारका अनुसार यो संयोगको सुरुवात सन् १९०७ मा विल्बर हार्लोको जन्मसँगै भएको थियो। त्यसपछि उनकी छोरी एडी, नाति डोनाल्ड र पनातिनी एम्माको जन्म पनि सेप्टेम्बर १४ मै भयो। अन्ततः एम्माका छोरा आर्थर पनि सोही दिन जन्मिएपछि पाँच पुस्ताको संयोग पूरा भएको हो।

एम्माले चार पुस्ताको संयोगबारे पहिलेदेखि नै थाहा भए पनि पाँचौँ पुस्ता पनि सोही दिन जन्मिएपछि मात्रै विश्व कीर्तिमानका लागि आवेदन दिएको बताइन्। उनका अनुसार परिवारले पाँच पुस्ताको जन्मदिन एउटै मितिमा पर्ने आशा गरेको थियो।

यसको अर्को रोचक पक्ष पाँचै पुस्तामा जन्मिएका सदस्यको लिंग क्रमशः केटा, केटी, केटा, केटी र केटा रहेको छ।

तर, आर्थरकी जिजुआमा एडीको सन् २०२३ मै निधन भएकाले उनले उनलाई भेट्न पाइनन्। तर एडी जीवित छँदा परिवारका सदस्यहरूले हरेक वर्ष सेप्टेम्बर १४ मा सँगै जन्मदिन मनाउने गर्थे।

आर्थरका हजुरबुबा डोनाल्डले यो संयोगलाई ईश्वरको सुन्दर कामको संज्ञा दिएका छन्। यसरी ११८ वर्षको पारिवारिक इतिहासलाई एउटै जन्ममितिले जोडेको यो दुर्लभ घटनाले विश्वभर ध्यान आकर्षित गरेको छ।

प्रकाशित: २७ कार्तिक २०८३ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App