भेनेजुएलाकी विपक्षी नेत्री तथा २०२५ को नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो अन्ततः नर्वे पुगेकी छिन्। एक वर्षभन्दा लामो समय ज्यान बचाउन लुकेर बस्दै आएकी माचाडोले बिहीबार नर्वेको राजधानी ओस्लो पुगेकी हुन्।
तर पुरस्कार समारोहमा ढिलो पुगेपछि व्यक्तिगत रूपमा उनले पदक ग्रहण गर्न सकिनन्। उनकी छोरी अन कोरिना सोसा माचाडोले आमाको तर्फबाट पुरस्कार ग्रहण गरिन्। छोरीले आमाको भनाइ सुनाउँदै भेनेजुएलाको लोकतन्त्रका लागि संघर्षको महत्त्व उल्लेख गरिन्।
माचाडोले ग्रान्ड होटलबाट समर्थकलाई हात हल्लाउँदै माया स्वीकार गरिन्। उनको अनुहारमा मुस्कान र उत्साह स्पष्ट देखिन्थ्यो। भीडले ‘स्वतन्त्रता’ को नारा लगाएको थियो। माचाडो कसरी गोप्य रूपमा नर्वे पुगिन् भन्ने कुरा अझै गोप्य नै छ।
उनले भेनेजुएलामा फर्कने योजना बनाएकी छन्, जहाँ सरकारले उनलाई भगौडा घोषणा गरेको छ। उनले बीबीसीलाई भनिन्, ‘अवश्य पनि म (भेनेजुएला) फर्किँदैछु... मलाई राम्रोसँग थाहा छ म के जोखिम लिइरहेको छु। म त्यो ठाउँमा हुनेछु जहाँ म मेरो उद्देश्यको लागि सबैभन्दा उपयोगी हुनेछु। हालसम्म मैले सोचेकी थिएँ कि म भेनेजुएलामा हुनुपर्छ, आज मलाई लाग्छ म ओस्लोमा हुनुपर्छ।’
नोबेल संस्थानका अनुसार माचाडोले अत्यधिक जोखिम मोलेर यात्रा गरिन्। उनले छोरीसँग दुई वर्षपछि भेटेकी हुन्। एजेन्सी
प्रकाशित: २६ मंसिर २०८२ ०९:४२ शुक्रबार





