१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिहारमा नीतिशको निरन्तरता : विपक्षीले ‘पल्टु राम’ भने, जनताले फेरि पत्याए

२०२५ को बिहार विधानसभा चुनाव नीतिश कुमारको दुई दशकभन्दा बढीको राजनीतिक यात्राको महत्त्वपूर्ण परीक्षा बनेको छ। विगत २० वर्षदेखि हरेक चुनावमा राज्यको राजनीतिक धारलाई आफ्नो नेतृत्व वरिपरि केन्द्रित राख्न सफल नीतिश कुमारले यसपटक पनि विकास र समावेशी शासनका आधारमा मतदाताको विश्वास जितेका छन्।

विपक्षीहरूले प्रायः उनलाई ‘पल्टु राम’ भनेर आरोप लगाए पनि नीतिश कुमारले आफ्ना वाचा पूरा गर्दै ग्रामीण पूर्वाधार सुधार, प्रत्यक्ष वित्तीय सहयोग तथा सामाजिक सुरक्षा योजनामार्फत मजबुत जनआधार कायम राखेका छन्। स्थिर प्रगति, मूर्त विकास र जिम्मेवार नेतृत्वका कारण मतदाताले उनप्रति निरन्तर विश्वास राख्दै आएका छन्।

विधवा, वृद्ध तथा अपाङ्गता भएका नागरिकका लागि पेन्सन, विद्यालयका रात्रिकालीन गार्ड र पिटी शिक्षकको तलब दोब्बर, करिब एक करोड महिलालाई १० हजार रुपैयाँ सहयोग जस्ता हालैका योजनाहरूले जनमानसमा सकारात्मक छाप छोडेका छन्। यसले उच्च जाति, कुशवाहा, पासवान, मुसहर, मल्लाहदेखि मुस्लिम समुदायसम्म तह–तहमा समर्थन विस्तार गर्न सहयोग गरेको छ।

विकास–केन्द्रित शासनशैली, शिक्षा–स्वास्थ्यमा सुधारका ठोस परिणाम, सीमान्तकृत वर्गप्रति निरन्तर पहुँच र बदलिँदो राजनीतिक परिस्थितिमा अनुकूलन गर्ने क्षमताले उनको दीर्घकालीन लोकप्रियताका मुख्य आधार बनेका छन्।

प्रारम्भिक चुनावी नतिजाले एनडिएलाई सशक्त प्रदर्शनतर्फ देखाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म एनडिएले १९० सिटमा अग्रता लिएको छ, जसमा जेडीयु ७६, भाजपा ८५, लोजपा २२, एनडिएका अन्य दल ७ सिटमा अगाडि छन्। विपक्षी महागठबन्धन भने ४९ सिटमा सीमित छ, जसअनुसार राजद ३४, कांग्रेस ५, सीपीआई(एमएल)एल १, महागठबन्धनका अन्य दल ९ सिटमा अगाडि देखिन्छन्। यसले २०२० को तुलनामा जेडीयुले ३३ सिटको अग्रताले ‘२५ से ३० फिर से नीतिश’ भन्ने नारा प्रचारमै सीमित नभएको पुष्टि गरेको छ।

यसपटक ६७.१३ प्रतिशत ऐतिहासिक मतदान भएको छ। यसलाई विश्लेषकहरूले सत्ता विरोधी भावनाभन्दा प्रतिस्पर्धात्मक उत्साहको परिणाम ठानेका छन्। मुस्लिमसहित परम्परागत रूपमा एनडिएप्रति अरुचि देखाउने समुदायहरूले समेत विकासमुखी योजनाका कारण नीतिश कुमारमाथि विश्वास कायम राखेको देखिन्छ।

राजनीतिक यात्राको सुरुदेखि नै उनले समावेशी सोच र पिछडिएको वर्गको आवाज बनेका छन्। जेपी आन्दोलनमा सक्रिय भूमिका, जनता पार्टी हुँदै राज्य–केन्द्र दुवै सरकारका जिम्मेवारी तथा रेलमन्त्रीका रूपमा वरिष्ठ नागरिक र अशक्त यात्रुका सुविधामा सुधारजस्ता ‘सामाजिक उत्तरदायित्व’ आधारित निर्णयहरूले उनलाई राष्ट्रिय स्तरमै पहिचान दिलाएको थियो।

सन् २००० मा मात्र सात दिन टिकेको पहिलो मुख्यमन्त्री कार्यकालबाट सुरु भएको चुनौतीपूर्ण अध्याय नीतिश कुमारको राजनीतिक मोड बन्न पुगेको थियो। सन् २००५ पछि निरन्तर नेतृत्व सम्हाल्दै उनले आज बिहार इतिहासको सबैभन्दा दीर्घकालीन मुख्यमन्त्रीमध्ये एक बनेका छन्। पुनः निर्वाचित भएमा उनले सिक्किमका पवन चामलिङ, ओडिसाका नवीन पटनायक र पश्चिम बङ्गालका ज्योति बसुजस्ता दिग्गज नेताहरूको सूचीमा प्रवेश गर्नेछन्। एजेन्सी

प्रकाशित: २८ कार्तिक २०८२ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App