बिहार विधानसभा चुनाव २०२५ को नतिजाले सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई ऐतिहासिक बहुमत दिएको छ। भारतको निर्वाचन आयोगका अनुसार २४३ सिटमध्ये एनडीएले २०२ सिट जितेर राज्यमा आफ्नो शासन कायम राखेको छ।
भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठूलो दल बनेर ८९ सिटसहित अगाडि छ भने जनता दल (यूनाइटेड) जेडीयूले ८५ सिट जितेको छ। लोक जनशक्ति पार्टी (रामविलास) ले १९, हिन्दुस्तानी अवाम मोर्चाले ५, राष्ट्रिय लोक मोर्चाले ४ र अन्य सहयोगीहरूले बाँकी सिटहरू जितेका छन्।
विपक्षी महागठबन्धन राष्ट्रिय जनता दल (आरजेडी), कांग्रेस र वामपन्थी दलहरू भने ३५ सिटमा सीमित रह्यो। आरजेडीले २५ सिट जिते पनि यो सन् २०२० को तुलनामा धेरै कम हो। सन् २०२० मा आरजेडी सबैभन्दा ठूलो दल बनेको थियो। कांग्रेसले ६१ सिटमध्ये मात्र ६ जित्यो भने एआईएमआईएमले ५ सिट कब्जा गरेको छ। जन सुराज जस्ता नयाँ पार्टीहरू भने नतिजाबाट टाढा रहे।
हार जितका मुख्य कारण
मुख्यमन्त्री नीतीशकुमारको सुशासनको छवि, महिलाहरूको उच्च मतदान, एक करोड २० लाख महिलाहरूको खातामा १० हजार भारतीय रुपैयाँको स्थानान्तरण, नि:शुल्क १२५ युनिट बिजुली र सामाजिक सुरक्षा पेन्सनमा तीन गुणा वृद्धिजस्ता कल्याणकारी योजनाहरू छन्।
चिराग पासवानको दलित मत र ओबीसी-ईबीसी गठबन्धनले पनि एनडीएलाई बलियो बनायो। यसपटक ७१.६ प्रतिशत महिलाले मतदान गरेका छन्, जुन पुरुषको ६२.८ प्रतिशतभन्दा बढी हो।
विपक्षीको हारमा तेजस्वी यादवले सत्ताविरोधी लहरलाई मतमा बदल्न नसक्नु, राहुल गान्धीको 'भोट चोरी' अभियानको असर नपर्नु र जातीय ध्रुवीकरण असफल हुनु प्रमुख छन्। प्रशान्त किशोरको जन सुराजले नोटाभन्दा कम मत पायो भने मुकेश साहनीको भोट बैंक एनडीएतर्फ सर्यो।
नेताहरूको प्रतिकृया
प्रधानमन्त्री नरेन्द्र मोदीले जितलाई 'सुशासन, विकास र सामाजिक न्यायको विजय' भन्दै खुशी व्यक्त गरेका छन्। उनले भने, 'यो जितले 'एम-वाइ' (महिला र युवा) सूत्रलाई नयाँ रूप दिएको छ, जंगल राजको 'एम-वाई' (मुस्लिम-यादव) फर्मुला ध्वस्त भएको छ। बिहारले लोकतन्त्र र निर्वाचन आयोगप्रति विश्वास देखाएको छ।' उनले पश्चिम बंगालमा पनि 'जंगल राज' अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री नीतीशकुमारले नतिजालाई 'जनताको विश्वासको अभिव्यक्ति' भनेका छन्। उनले भने, 'एनडीएको पूर्ण एकताले यो जित सम्भव भयो। म प्रधानमन्त्री मोदी, चिराग पासवान, जितन राम माझी र उपेन्द्र कुशवाहालाई धन्यवाद दिन्छु। यस बहुमतले बिहारलाई सबैभन्दा विकसित राज्यहरूको श्रेणीमा पुर्याउनेछ।' नीतीशले महिलाको शिक्षाका लागि साइकल वितरण, ३५ प्रतिशत आरक्षण र पूर्वाधार विकास जस्ता उपलब्धिहरूको श्रेय जनतालाई दिए।
विपक्षीतर्फ आरजेडी नेता तेजस्वी यादवले आफ्नो राघोपुर सिट जिते पनि समग्र हारमा 'परिवर्तन नआउनु दुःखद' भने। उनले भने, 'हामीले जनताको विजयको आशा गरेका थियौं, तर यो नतिजा हाम्रो संघर्षको परिणाम होइन। हामीले गठबन्धनको एकताले सत्तामा फर्कने प्रयास गरेका थियौं।' तेजस्वीले २०२० को सफलतापछि यो हारलाई 'नीतीशको योजनाहरूको प्रभाव' माने।
कांग्रेस नेता राहुल गान्धीले नतिजालाई 'साँच्चै आश्चर्यजनक' भनेर आलोचना गरे। उनले भने, 'यो चुनाव सुरुदेखि नै निष्पक्ष थिएन। हामीले लाखौं मतदाताहरूको विश्वास जितेका थियौं, तर यो जित सम्भव थिएन। यो संविधान र लोकतन्त्रको रक्षाको लडाइँ हो। कांग्रेस र इण्डिया गठबन्धनले यो नतिजाको गहन समीक्षा गर्नेछ र लोकतन्त्र बचाउन थप प्रभावकारी प्रयास गर्नेछौं।' राहुलको 'भोटर अधिकार यात्रा' ले अपेक्षित असर नगरेको देखिन्छ।
यो नतिजाले बिहारको राजनीतिमा नीतीशकुमारको केन्द्रीय भूमिका कायम राखेको छ। विगत दुई दशकदेखि सत्तामा रहँदै उनले अपराध, भ्रष्टाचार र बेरोजगारीविरुद्ध लडेर 'सुशासन बाबु' को उपाधि कमाएका छन्। एनडीएको यो जितले राज्यको विकासलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। एजेन्सीको सहयोगमा
प्रकाशित: २९ कार्तिक २०८२ ०६:५७ शनिबार





