न्यूयोर्कको मेयर चुनाव जितेपछि जोहरान ममदानीले आफ्नो आधा घण्टा लामो भाषणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाएका छन्। ‘जुन मानिसहरूले उनलाई जिताउन सक्छन्, तिनै मानिसहरूले उनलाई हराउन पनि सक्छन्,’ ममदानीले ट्रम्पलाई संकेत गर्दै भने।
ट्रम्पले चुनावअघि ममदानीलाई मतदान नगर्न अपिल गरेका थिए। उनले भनेका थिए, ‘यदि जोहरान ममदानी मेयर बने भने मलाई न्यूयोर्कलाई आर्थिक सहयोग गर्न गाह्रो हुनेछ।’ एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले थपे, ‘राष्ट्रपतिको रूपमा मलाई न्यूयोर्कमा धेरै पैसा पठाउन गाह्रो हुनेछ, किनकि यदि न्यूयोर्क कम्युनिस्टको हातमा पर्यो भने, त्यहाँ पठाइएको पैसा खेर जानेछ।’
ट्रम्पले ममदानीलाई वामपन्थी झुकाव राख्ने व्यक्ति भएको आरोप लगाउँदै न्यूयोर्क सहरलाई संघीय कोष पठाउन आफ्नो सरकारलाई गाह्रो पर्ने धम्की दिँदै आएका थिए। ट्रम्प प्रशासनले विगतमा धेरै पटक डेमोक्र्याटहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूमा परियोजनाहरूको लागि संघीय कोष घटाउन प्रयास गरेको छ।
ममदानीले नि:शुल्क बस सेवा, विश्वव्यापी बाल हेरचाह र बढ्दो मुद्रास्फीति नियन्त्रण लगायत आफ्ना सबै चुनावी वाचाहरू पूरा गर्ने कुरा जितपछि दोहोर्याए।
आफ्नो विजय भाषणमा ममदानीले जवाहरलाल नेहरुका शब्दहरू उद्धृत गरेका थिए। उनले भने, ‘मलाई जवाहरलाल नेहरुका शब्दहरू याद छ, इतिहासमा त्यस्ता क्षणहरू कमै हुन्छन् जब हामी पुरानोबाट नयाँमा पाइला टेक्छौँ। जब एउटा युग समाप्त हुन्छ र राष्ट्रको आत्माले आफ्नो आवाज पाउँछ। आज राती, हामी पुरानोबाट नयाँमा पाइला टेक्छौँ।’
ममदानीले आफ्नो विजयलाई न्यूयोर्कको लागि परिवर्तनको नयाँ सुरुवातको रूपमा वर्णन गरेका छन्।
निर्वाचनमा ममदानीले ५०.४ प्रतिशत मत प्राप्त गर्दै विजयी भए। उनी फिल्म निर्देशक मीरा नायरका छोरा हुन्। ममदानी न्यूयोर्कको सबैभन्दा कान्छो मेयर, पहिलो भारतीय मूलका अमेरिकी र सय वर्षमा पहिलो मुस्लिम मेयर हुनेछन्।
विजय भएपछि ममदानीले न्यूयोर्कका जनतालाई सम्बोधन गर्दै ट्रम्पलाई चेतावनी दिए। उनले भने, ‘ट्रम्पलाई जन्म दिने सहरले अब राष्ट्रलाई उनलाई कसरी हराउने भनेर देखाउनेछ। डोनाल्ड ट्रम्प- मलाई थाहा छ तपाईं यो हेरिरहनुभएको छ। मसँग तपाईंको लागि चार शब्दहरू छन्: आवाज बढाउनुहोस्।’
ममदानीले धनी व्यापारी र घरधनीहरूलाई पनि चेतावनी दिए। उनले भने, ‘हामी भाडामा बस्नेलाई शोषण गर्ने घरधनीलाई जबाफदेही बनाउनेछौँ। किनभने हाम्रो सहरमा ट्रम्पजस्ता मानिसहरू आफ्ना भाडामा बस्नेहरूको फाइदा उठाउन अभ्यस्त छन्। हामी भ्रष्ट प्रणालीलाई भत्काउनेछौँ जसले अर्बपतिहरूलाई कर छल्न र छुटको शोषण गर्न अनुमति दिएको छ।’
न्यूयोर्क सिटी इलेक्सन बोर्डले रिपोर्ट अनुसार मेयरको चुनावमा २० लाखभन्दा बढी मानिसहरूले मतदान गरेका छन्, जुन १९६९ पछि पहिलो पटक यति ठुलो मतदान भएको हो। एजेन्सी
प्रकाशित: १९ कार्तिक २०८२ १२:५९ बुधबार





