अमेरिकी विमानस्थलहरूमा सुरक्षा जाँचको क्रममा यात्रुहरूले अब जुत्ता फुकाल्नु पर्ने छैन। यातायात सुरक्षा प्रशासन (टीएसए) ले दुई दशकपछि सुरक्षा जाँचका लागि जुत्ता हटाउने नीति समाप्त गरेको हो।
अमेरिकाको गृह सुरक्षा सचिव क्रिस्टी नोएमले भनिन्, ‘यो परिवर्तन सबै अमेरिकी विमानस्थलहरूमा तुरुन्तै लागु हुनेछ, यद्यपि बहुस्तरीय स्क्रीनिंग प्रक्रिया भने जारी रहनेछ।’
नोएमले हवाई यात्रुहरूले अझै पनि जाँचको समयमा आफ्नो बेल्ट र कोट निकाल्नुपर्ने बताइन्। साथै, ल्यापटप र तरल पदार्थहरू आफ्नो झोलाबाट निकाल्नुपर्नेछ। तर यी नियमहरूको पनि समीक्षा भइरहेको छ।
डिसेम्बर २००१ मा एक बेलायती नागरिकले पेरिसबाट मियामी उडानमा आफ्नो जुत्तामा बम लुकाएका थिए। ती बेलायती नागरिकले बम विस्फोट गर्न सकेनन्, र यात्रुहरूले उनलाई समातेर लगे।
त्यसपछि विमानलाई बोस्टनमा सुरक्षित रूपमा अवतरण गरिएको थियो। त्यसपछि सन् २००६ मा अमेरिकाले हवाई यात्रुहरूको सुरक्षा जाँचका लागि जुत्ता फुकाल्ने नियम लागु गरेको थियो।
‘हाम्रो सुरक्षा प्रविधि धेरै परिवर्तन भएको छ। यो धेरै विकसित भएको छ। टीएसए पनि त्यस्तै भएको छ,’ नोएमले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै भनिन्। एजेन्सी
प्रकाशित: २५ असार २०८२ १२:५५ बुधबार

