न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायलका बेन्जामिन नेतान्याहूलाई पक्राउ गर्न नसक्ने बताएका छन्।
बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले विश्वको शीर्ष युद्ध-अपराध अदालत अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन गर्न आफू सक्षम नभएको बताएका हुन्। तर संघीय सरकारले त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ। भिडियोमा ममदानीले इजरायली प्रधानमन्त्रीलाई ‘युद्ध अपराधी’ भनेर उल्लेख गरेका छन्। उनलाई न्युयोर्क सहरमा स्वागत नगरिने उनको स्पष्ट जवाफ छ।
आईसीसीले नोभेम्बर २१, २०२४ मा इजरायली प्रधानमन्त्री नेतान्याहू र पूर्व रक्षामन्त्री योभ ग्यालान्ट, साथै हमासका सैन्य प्रमुख मोहम्मद देइफका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। ‘यो स्पष्ट छ कि हामीसँग यो पुर्जी लागू गर्ने स्वतन्त्र कानुनी अधिकार छैन,’ मेयर ममदानीले एक्समा पोस्ट गरिएको भिडियोमा भनेका छन्, ‘यद्यपि संघीय सरकारले गर्न सक्छ, र म उनीहरूलाई आईसीसीमा सहभागी हुन र यो पुर्जी कार्यान्वयन गर्न आह्वान गर्दछु।’
ममदानीले यस महिनाको सुरुमा न्युयोर्क टाइम्सलाई यदि सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभाको लागि नेतान्याहू न्युयोर्क सहर आउँदा सहरको कानुनी विभागले उनलाई पक्राउ गर्न सक्दैन भनेर आफूले छलफल गरिरहेको बताएका थिए।
यो पनि पढ्नुहोस्
नेतान्याहूलाई ‘युद्ध अपराधी’ भन्दै मेयर ममदानीले पक्राउ गर्ने संकेत दिएपछि इजरायल आक्रोशित
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा नेतान्याहूलाई अमेरिकामा पक्राउ नगरिने कुरा स्पष्ट पारेका थिए। उनले एक पोस्टमा बताए, ‘संयुक्त राज्य अमेरिकामा रहँदा उनलाई कुनै पनि तरिकाले पक्राउ गरिने छैन।’ पोस्टमा ममदानीको प्रत्यक्ष रूपमा उल्लेख गरिएको थिएन।
ममदानीले गत वर्ष आफ्नो मेयर चुनाव अभियानभरि गाजाको युद्धमा नेतान्याहूको भूमिकालाई लिएर फौजदारी अदालतको पुर्जी अन्तर्गत नेतान्याहूलाई पक्राउ गर्न सहरको प्रहरीलाई आदेश दिने बताएका थिए। आफ्नो भिडियो सन्देशमा ममदानीले आफ्नो प्रशासनले उपलब्ध सबै उपायहरूको समीक्षा गरेको बताउँदै सहरले गिरफ्तारी पुर्जी कार्यान्वयन गर्न नसक्ने दाबी गरेका हुन्।
‘म पनि उत्तिकै स्पष्ट हुन चाहन्छु, बेन्जामिन नेतान्याहूलाई न्युयोर्क सहरमा स्वागत छैन।’ उनले थप भनेका छन्। संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत ड्यानी ड्यानोनले मेयरलाई ‘पर्याप्त भयो’ भन्दै प्रतिक्रिया दिएका छन्। ‘तपाईं हमासको प्रचारको लागि होइन, न्युयोर्कवासीहरूको सेवा गर्न निर्वाचित हुनुभएको हो,’ उनले सामाजिक सञ्जालमा एक विज्ञप्तिमा बताए। उनले भनेका छन्, ‘आफ्नो काम गर!’ यसअघि नेतान्याहूको कार्यालयले पनि ममदानीलाई आफ्ना स्थानीय समस्या सम्बोधनमा लाग्न सुझाएको थियो।
विश्वको शीर्ष युद्ध-अपराध अदालतले सन् २०२४ मा नेतान्याहू र अन्यलाई गाजामा भएको युद्धको सम्बन्धमा मानवता विरुद्धको अपराधको आरोप लगाउँदै पक्राउ पुर्जी जारी गरेको थियो। अदालतले नेतान्याहू र पूर्व रक्षामन्त्री योभ ग्यालान्टले मानवीय सहायता प्रतिबन्धित गरेर ‘युद्धको विधिको रूपमा भोकमरी’ प्रयोग गरेको आरोप लगाएको थियो। गाजामा हमास विरुद्ध इजरायलको अभियानमा जानाजानी सर्वसाधारणलाई लक्षित गरेको भनिएको छ। तर इजरायली अधिकारीहरूले यी सबै आरोप अस्वीकार गर्छन्। एजेन्सी
प्रकाशित: ६ श्रावण २०८३ १२:४२ बुधबार





