सिरहाको लहानमा प्रहरीले गोली चलाएर आज ६ जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लहानस्थित अस्पताल चोकमा गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
प्रहरीले चलाएको गोली लागेर जिल्ला सप्तरी रुपनी गापा वडा नं. १ ठेगाना भएका वर्ष ४० को मो. नसिर र देश भारत राज्य बिहार ठेगाना भएका वर्ष २२ को विद्यानन्द यादव घाइते भएका छन्। घाइते दुवैको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। शङ्कास्पद अवस्थामा रहेको ६ जनालाई रोकी जाँच गर्दा भाग्न खोज्दा प्रहरी टोलीले गोली चलाएको प्रहरीले बताएको छ।
सो क्रममा जिल्ला सप्तरी बोदे बसाईन गापा वडा नं. २ ठेगाना भएका वर्ष २८ को शम्भु प्रसाद यादव, जिल्ला सप्तरी डाक्नेश्वरी गापा २ ठेगाना भएका वर्ष २८ को मो. जमाहिर आलम, जिल्ला सप्तरी बोदे बसाईन गापा वडा नं. २ ठेगाना भएका वर्ष २४ वैधनाथ प्रसाद यादव र जिल्ला सप्तरी डाक्नेश्वरी गापा २ ठेगाना भएका वर्ष ३२ को मो. इमामुदिनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
पक्राउ परेकाहरूका साथबाट लागुऔषध खैरो हिरोइन २४३ ग्राम र दुई वटा मोटरसाइकल तथा ७ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक थप अनुसन्धान कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहान, सिरहामा बुझाइएको प्रहरीको भनाइ छ।

प्रकाशित: ७ श्रावण २०८३ २२:१७ बिहीबार





