मध्यावधि चुनावमा रिपब्लिकन उम्मेदवारलाई जिताउन कीर्तिमानी रकम खर्च गरेका अमेरिकी अर्बपति एलन मस्कले पार्टीको पराजयपछि व्यङ्ग्य गरेका छन्।
मस्कले यस चुनावमा अनुमानित ४४५ मिलियन अमेरिकी डलर खर्च गरेका थिए। यो रकमले उनलाई आधुनिक अमेरिकी राजनीतिक इतिहासकै सबैभन्दा ठुलो व्यक्तिगत दातामध्ये एक बनाएको छ। उनले बुधबार बिहान सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसपटक चुनावमा हस्तक्षेप गर्ने मेरा अन्तरिक्ष लेजरहरूले काम गरेनन् जस्तो छ।’
मस्कले चुनावमा गरेको खर्चको तुलनामा त्यसको परिणाम भने निकै कमजोर देखिएको छ। विशेषगरी टेक्ससमा डेमोक्र्याटहरूले ठुलो सफलता हासिल गरेपछि उनको लगानीको प्रभावबारे प्रश्न उठेको छ। टेक्ससको गभर्नर पदको दौडमा डेटा सेन्टर विस्तारको विरोध गर्दै आएकी डेमोक्र्याट उम्मेदवार जीना हिनोजोसाले अप्रत्याशित जित हासिल गरेकी छन्।
हिनोजोसाको जितपछि मस्कले अर्को पोस्ट गर्दै लेखेका छन्, ‘अन्तरिक्षमा डेटा सेन्टरहरू अहिले निकै आकर्षक देखिन थालेका छन्।’ टेक्ससमा आएको राजनीतिक परिवर्तनले त्यहाँ रहेका मस्कका कम्पनीहरूको योजनामा कस्तो असर पार्छ भन्ने अझै स्पष्ट भएको छैन।
मंगलबार भएको अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटहरूले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेका छन्। यससँगै रिपब्लिकन पार्टीले दुवै सदनको नियन्त्रण गुमाएको छ।
यो पनि पढ्नुहोस्
मध्यावधि चुनाव : दुवै सदनमा डेमोक्र्याटको कब्जा, ट्रम्पको बाँकी कार्यकाल चुनौतीपूर्ण
प्रकाशित: १८ कार्तिक २०८३ १४:१९ बुधबार





