अस्ट्रेलियाका एक सांसदले संसद्मा आफ्नो अन्तिम सम्बोधनलाई प्रेमिकासँग विवाहको प्रस्ताव राख्ने अविस्मरणीय क्षणमा परिणत गरेका छन्।
न्यु साउथ वेल्सका सांसद जोर्डन लेनले १० वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी नतालीलाई संसद्भित्रै विवाहको प्रस्ताव राखेका हुन्।
बिहीबार राइड क्षेत्रका सांसदका रूपमा अन्तिम सम्बोधन दिइरहेका लेनले भाषणको अन्त्यमा नतालीतर्फ फर्किएर भने, ‘सभामुख, राइडको सदस्यका रूपमा मेरो अन्तिम प्रश्न मेरो महान् प्रेम नतालीका लागि हो। के तिमी मसँग विवाह गर्छौ?’
उनले प्रस्ताव राखेपछि संसद् ताली र खुसीको आवाजले गुञ्जिएको थियो। नतालीले प्रस्ताव स्वीकार गरेपछि लेनले उनको औँलामा इन्गेजमेन्टको औँठी लगाइदिए र चुम्बन गरे। त्यसपछि उनले संसदीय अभिलेखमा नतालीले ‘हुन्छ’ भनेको उल्लेख गर्न आग्रह गरे।
यो क्षणपछि न्यु साउथ वेल्स विधानसभाका सभामुख ग्रेग पाइपरले ५८औँ संसद्लाई ‘प्रेमको संसद्’ का रूपमा सम्झिने बताए।
लेनले आफ्नो अन्तिम सम्बोधनमा प्रेम, परिवार र राजनीतिक यात्राबारे चर्चा गरेका थिए। उनले प्रेमले आफ्नो जीवन र राजनीतिलाई समेत प्रभावित पारेको बताए। उनका अनुसार प्रेम यस्तो भावना हो, जुन भित्रभित्रै जोशका साथ बल्छ र कहिलेकाहीँ यसको अर्थ बुझाउन पनि कठिन हुन्छ।
सम्बोधनका क्रममा उनले आफ्ना अभिभावक जेनेल र रिचर्डलाई इमानदारी, मेहनत र असल व्यवहारका मूल्य सिकाएकोमा धन्यवाद दिए। जीवनभर आफू बसेको राइड क्षेत्र सधैँ आफ्नो घर रहने बताउँदै त्यहाँका बासिन्दालाई परिवारका रूपमा सम्झिने पनि उनले बताए। उनले दिदीबहिनी, हजुरआमा र आफ्नो जीवनमा साथ दिने अन्य व्यक्तिप्रति पनि आभार व्यक्त गरे।
आफ्नी प्रेमिका नतालीलाई सम्बोधन गर्दै उनले उनी आफ्नो जीवनका असल र सत्य कुराहरूको स्रोत भएको बताए। विभिन्न चुनौतीका बाबजुद उनीहरूको सम्बन्ध टिकेको पनि लेनले उल्लेख गरे।
पहिलो कार्यकालका सांसद लेनले यसै महिनाको सुरुमा आगामी मार्चमा हुने राज्य निर्वाचनमा राइड क्षेत्रबाट उम्मेदवारी नदिने घोषणा गरेका थिए। उनको उक्त निर्णयले पार्टीका सहकर्मीहरूलाई समेत आश्चर्यमा पारेको थियो।
लेनले संसद्मा विवाहको प्रस्ताव राखेको भिडियो आफ्नो इन्स्टाग्राममा पनि सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘आज मैले संसद्मा आफ्नो अन्तिम सम्बोधन दिएँ। म राइडलाई माया गर्छु र सधैँ गरिरहनेछु। तर नतालीलाई अझ बढी माया गर्छु।’
राजनीतिक यात्राबाट बिदा लिने घोषणा गरेका लेनको अन्तिम संसदीय सम्बोधन व्यक्तिगत जीवनको नयाँ अध्याय सुरु गर्ने अविस्मरणीय क्षण बनेको छ।
प्रकाशित: ५ मंसिर २०८३ १४:१६ शनिबार





