१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मध्यावधि चुनाव : दुवै सदनमा डेमोक्र्याटको कब्जा, ट्रम्पको बाँकी कार्यकाल चुनौतीपूर्ण

अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेको छ। यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालमा रिपब्लिकन प्रशासनलाई चुनौती थपिएको छ।

मंगलबार सम्पन्न चुनावमा महँगी, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताको असन्तुष्टि डेमोक्र्याटको जितको प्रमुख कारण बनेको छ। दुई वर्षअघि ट्रम्पले भारी मतले जितेका राज्यमा समेत डेमोक्र्याटले सफलता हात पारेका छन्।

प्रतिनिधिसभामा अहिलेसम्म घोषित नतिजाअनुसार डेमोक्र्याटले २२७ र रिपब्लिकनले १४२ सिट जितेका छन्। बाँकी ६६ सिटको नतिजा आउन बाँकी छ। त्यस्तै, सिनेटमा डेमोक्र्याटले ५३ र रिपब्लिकनले ४३ सिट हासिल गरेका छन् भने चार सिटको नतिजा आउन बाँकी छ। यससँगै दुवै सदनमा डेमोक्र्याटले बहुमत हासिल गरेका छन्।

२६ राज्यको नतिजा घोषणा भइसकेको छ, जसमा ३६ सिटको नतिजा आउन अझै बाँकी छ। हालसम्म १७ सिट डेमोक्र्याट र ९ सिट रिपब्लिकनले जितेका छन् भने बाँकी १० राज्यमा मतगणना जारी छ।

चुनावी नतिजालाई ट्रम्पका लागि ठुलो राजनीतिक धक्काका रूपमा हेरिएको छ। दुवै सदनमा बहुमत गुमाएपछि उनको बाँकी दुई वर्षको कार्यकालमा सरकारका नीति तथा कार्यक्रम अघि बढाउन कठिन हुने देखिएको छ। डेमोक्र्याट नेताहरूले ट्रम्प प्रशासनका उच्च अधिकारीमाथि अनुसन्धान गर्ने र सरकारी कामकारबाहीको निगरानी बढाउने बताएका छन्। ट्रम्प र उनका मन्त्रिपरिषद्का सदस्यविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउने सम्भावनासमेत खुला रहेको उनीहरूको भनाइ छ।

ट्रम्पले भने चुनावी हारलाई व्यक्तिगत पराजयका रूपमा नलिएको बताएका छन्। उनले मतदाताले उम्मेदवारहरूलाई मन नपराएको प्रतिक्रिया दिएका छन्। साथै, डेमोक्र्याटले अघि बढाउने कानुनमा भिटो लगाउने चेतावनीसमेत दिएका छन्।

सिनेटमा डेमोक्र्याटले आयोवा, क्यान्सस, टेक्सस, साउथ क्यारोलिना, ओहायो, मेन र नर्थ क्यारोलिनामा महत्त्वपूर्ण जित निकालेका छन्। जर्जियामा पनि डेमोक्र्याटले आफ्नो सिट जोगाएका छन्। प्रतिनिधिसभामा समेत फ्लोरिडा, टेक्सस, आयोवा र अन्य रिपब्लिकन प्रभाव रहेका क्षेत्रमा डेमोक्र्याटले सिट जितेका छन्।

मतदाता सर्वेक्षणअनुसार अधिकांश अमेरिकी मतदाता देशको अवस्थाप्रति असन्तुष्ट देखिएका छन्। करिब तीन चौथाइ मतदाताले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि वा आक्रोश व्यक्त गरेका छन्। त्यस्तै, तीन चौथाइले अर्थतन्त्रको अवस्था राम्रो नरहेको बताएका छन् भने १० मध्ये आठ जनाले महँगीका कारण आफ्नो परिवारले आर्थिक कठिनाइ भोग्नुपरेको बताएका छन्।

प्रकाशित: १८ कार्तिक २०८३ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App