८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको कारखानामा भीषण आगलागी: १० जनाको मृत्यु, ५९ घाइते

दक्षिण कोरियाको मध्य शहर डेजेओन स्थित एक अटो पार्ट्स कारखानामा भीषण आगलागी भएको छ। अधिकारीहरूका अनुसार हालसम्म कम्तीमा १० जनाको मृत्यु भएको छ। ५९ जना घाइते भएका छन्। चार जना बेपत्ता छन्।

शुक्रबार दिउँसो भएको विस्फोटपछि आगलागी सुरु भएको थियो। आगो तीव्र गतिमा फैलिँदा केही कामदारहरू ज्यान जोगाउन भवनबाट हाम फालेका थिए। अधिकांश धुवाँका कारण निस्सासिएर घाइते भए।

दक्षिण कोरिया आन्तरिक तथा सुरक्षा मन्त्रालयका अनुसार घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ।

आगलागी नियन्त्रण र उद्धार कार्यका लागि ५ सय भन्दा बढी अग्निनियन्त्रक, प्रहरी र आपतकालीन कर्मचारी परिचालन गरिएको थियो।

अग्निनियन्त्रक प्रमुख नाम देउकवूका अनुसार प्रारम्भमा भवन भत्किने जोखिमका कारण भित्र प्रवेश गर्न कठिन भएको थियो। पछि मानवरहित अग्निनियन्त्रक रोबोट प्रयोग गरी संरचना सुरक्षित बनाइएपछि मात्रै खोज तथा उद्धार कार्य सुरु गरिएको हो।

उद्धार टोलीले दोस्रो तल्लाबाट एक र तेस्रो तल्लामा रहेको जिम क्षेत्रबाट नौ जनाको शव फेला पारेको जनाएको छ। बाँकी बेपत्ता व्यक्तिहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ। 

प्रहरीले एक मृतकको पहिचान गरिसकेको छ भने अन्यको डीएनए परीक्षण भइरहेको छ। शनिबार बिहानसम्म २८ जना अस्पतालमा भर्ना गरिएका छन्।

आगलागीको कारण अझै खुल्न सकेको छैन, तर प्रत्यक्षदर्शीहरूले विस्फोट भएको बताएका छन्। घटनास्थलबाट सय किलोग्रामभन्दा बढी अत्यधिक प्रतिक्रियाशील रसायन सुरक्षित रूपमा हटाइएको छ।

-एजेन्सीको सहयोगमा

प्रकाशित: ७ चैत्र २०८२ १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App