३० श्रावण २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्वास्थ्य बिमा प्रणालीबाट आजित भएर युनाइटेडहेल्थकेयरका सीईओको ह*त्या : म्यान्जियोनले स्वीकारे अपराध

अमेरिकामा युनाइटेडहेल्थकेयरका सीईओ ब्रायन थम्पसनको हत्या गरेको आरोपमा लुइगी म्यान्जियोनले संघीय अदालतमा आफ्नो दोष स्वीकार गरेका छन्।

उनले सन् २०२४ मा न्यूयोर्कको सडकमा ब्रायनलाई पछ्याएर गोली हानी हत्या गरेको स्वीकार गरेका हुन्। २८ वर्षीय म्यान्जियोनले थ्रीडी प्रिन्टरको सहयोगमा बन्दुक बनाएको र अर्बौँ डलरको कम्पनी डलरको कम्पनीमा लगानीकर्ता भएको नाटक गरी थम्पसनलाई भेट्ने मौका जुराएको बताएका छन्। उनले अदालतमा ‘डिसेम्बर ४, २०२४ को बिहान, मैले म्यानहट्टनमा थम्पसनलाई गोली हाने, र उनको मृत्यु भयो’ भनी बयान दिएका छन्।

सो क्रममा अदालतमा उपस्थित थम्पसनकी श्रीमती पाउलेट भावुक बनेकी थिइन्। आगामी डिसेम्बर १८ मा सजाय सुनाउने मिति तोकिएको छ, अभियोजकहरूले म्यान्जियोनलाई आजीवन कारावासको सजाय हुनुपर्ने माग राख्ने योजना बनाएका छन्। न्यायाधीशले सोधेको प्रश्नमा उनले आफू बाँकी जीवन जेलमा बिताउन तयार रहेको बताएका छन्।

म्यान्जियोनका वकिल करेन फ्राइडम्यान अग्निफिलोले भने, ‘म्यान्जियोनले ब्रायन थम्पसनको हत्याको पूर्ण जिम्मेवारी स्वीकार गरेका छन्।’ यद्यपि, संघीय मुद्दामा अपराध स्वीकार गरे पनि म्यान्जियोनले न्यूयोर्क राज्यले लगाएको हत्या अभियोगको छुट्टै सामना गर्नुपर्नेछ। वकिलहरूले एउटै घटनामा दुई पटक मुद्दा चलाउन नहुने भन्दै राज्यको मुद्दा खारेज गराउने प्रयास गरिरहेका छन्। तर, म्यानहट्टन जिल्ला वकिलको कार्यालयले आफ्नो मुद्दा निरन्तर अघि बढाउने अडान लिएको छ।

घटनास्थलमा प्रहरीले बरामद गरेको गोला बारुदमा बिमा कम्पनीले दाबी भुक्तानी दिन प्रयोग गर्ने शब्दहरू ‘ढिलाइ’, ‘अस्वीकार’ र ‘बयान’ लेखिएको थियो। म्यान्जियोनले आफू स्वास्थ्य बिमा प्रणालीको विकृतिबाट आजित भएर यस्तो कदम चालेको बताउँदै आएका छन्। तर, प्रहरी र कम्पनीका अनुसार उनी युनाइटेडहेल्थकेयरका ग्राहक कहिल्यै थिएनन्।

न्यूयोर्क प्रहरी आयुक्त जेसिका टिस्चले घटनाबारे भनिन्, ‘हिंसा कारण होइन। हत्या सन्देश होइन। र हत्यारा पक्कै पनि नायक होइन।’ पेन्सिलभेनियाको एक म्याकडोनाल्ड रेस्टुरेन्टबाट पक्राउ परेका म्यान्जियोनको झोलाबाट हत्यामा प्रयोग भएको जस्तै थ्रीडी-प्रिन्टेड पिस्तौल र आफ्नो मनसाय लेखिएको नोटबुक बरामद भएको थियो। एजेन्सी

प्रकाशित: ३० श्रावण २०८३ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App