जोडीको गोप्य भिडियो खिचेर सार्वजनिक गरिदिने धम्की दिँदै पैसा र यौनसम्पर्क माग्ने एक सिंगापुरवासीलाई दुई वर्ष १० महिनाको जेल सजाय भएको छ। उनलाई तीन पटक कोर्रा हान्ने सजायसमेत सुनाइएको छ।
३३ वर्षीय मोहम्मद शारुलनैम मिस्वानले जनवरी २०२४ मा कार पार्क गर्ने भवनको छतमा रहेको बगैंचामा एक जोडीको गोप्य भिडियो खिचेका थिए। उनी बोटबिरुवाको पछाडि लुकेर बसेका थिए र जोडीका पाँच वटा भिडियो बनाएका थिए। केही महिनापछि उनले तीमध्येकी महिलालाई क्लिनिकमा भेटे। आफूसँग उनको भिडियो रहेको बताउँदै उनले भिडियो इन्टरनेटमा सार्वजनिक गर्ने वा प्रहरीलाई दिने धम्की दिए।
महिलाले सुरुमा ३०० सिंगापुर डलर दिन खोजेकी थिइन्। तर शारुलनैमले दुई हजार र त्यसपछि एक हजार ५०० डलर मागे। अन्ततः उनले एक हजार डलर र आफूसँग यौनसम्पर्क गर्न माग गरे। यौनसम्पर्क गरे भिडियो मेटाइदिने उनले बताएका थिए।
महिलाले उनको प्रस्ताव अस्वीकार गर्दै प्रहरीमा उजुरी गरिन्। त्यसपछि पनि शारुलनैमले उनलाई मुद्दा फिर्ता लिन दबाब दिए। उनले महिलाकी बहिनीलाई समेत सुपरमार्केटमा भेटेर प्रहरीलाई घटना नबताउन आग्रह गरेका थिए। उनले माफी माग्दै उपहार र आर्थिक सहयोग दिने प्रस्तावसमेत गरेका थिए।
तर प्रहरी अनुसन्धान चलिरहेकै बेला उनले अर्को जोडीलाई पनि निशाना बनाए। फेब्रुअरी २५, २०२५ मा कारभित्र यौनसम्पर्क गरिरहेको अर्को जोडीको फोटो खिचेर उनले आफू पूर्वप्रहरी भएको झुटो दाबी गरेका थिए।
उनले प्रहरीमा उजुरी गर्ने भन्दै जोडीलाई डर देखाए। जोडी त्यहाँबाट जान खोज्दा उनले कारले बाटो छेकेर युवतीलाई घर पुर्याइदिने भन्दै आफ्नो कारमा राखे। उनले कारको ढोका लक गरेर केही समय युवतीलाई बाहिर निस्कनसमेत दिएनन्।
स्थानीय सञ्चाध्यमका अनुसार पछि युवतीले प्रहरीमा उजुरी गरिन् र शारुलनैम पक्राउ परे। अदालतमा उनले जबरजस्ती पैसा असुल्न खोजेको, प्रहरी अनुसन्धानमा बाधा पुर्याएको र एक महिलालाई गैरकानुनी रूपमा थुनेको आरोप स्वीकार गरेका छन्। उनका थप दुई आरोपलाई पनि अदालतले ध्यानमा राखेको थियो।
सजाय सुनाउने क्रममा न्यायाधीश स्यामुअल वीले शारुलनैमले आफ्ना काम पहिले नै योजना बनाएको बताएका थिए। अदालतमा उनकी श्रीमती नवजात शिशुलाई काखमा लिएर रोइरहेकी थिइन्। न्यायाधीशले उनको व्यवहारले श्रीमतीलाई सबैभन्दा बढी पीडा परेको बताए। ‘तिमीले गरेको कामका कारण तिम्रा बच्चाहरू केही समय बाबुविना हुर्किनुपर्नेछ,’ न्यायाधीशले भने।
जेल जानुअघि शारुलनैमलाई परिवारका सदस्यसँग भेट्ने समय दिइएको थियो। उनले सिसाको प्वालबाट आफ्नो एक महिनाको बच्चालाई बिदाइ गरेका थिए।
प्रकाशित: १६ भाद्र २०८३ १२:२७ मंगलबार





