१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढीमा हराएका मलेसियन नागरिक ३७ दिनपछि परिवारको सम्पर्कमा

फाइल तस्बिर

रसुवाको भोटेकोशीमा गत १० भदौमा आएको बाढीपछि बेपत्ता भएका एक मलेसियाली नागरिक ३७ दिनपछि सुरक्षित रूपमा मलेसिया फर्किएको पुष्टि भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बाढीमा बेपत्ता मलेसियाली नागरिकका परिवारको प्रतिनिधित्व गर्ने समूह मलेसिया सोलिडारिटी: फेमिलीज इन होप (मस्फिह) ले शुक्रबार यो जानकारी दिएको हो। मस्फिहका प्रवक्ता मनिभान्नन रेथिनमका अनुसार ती व्यक्तिले काठमाडौंस्थित मलेसियाली दूतावासमा आफैं सम्पर्क गरेका थिए। उनी चिनियाँ मूलका मलेसियाली नागरिक थिए र नेपालमा एक्लै यात्रा गरिरहेका व्यक्तिमध्ये एक भएको पाइएको छ।

मनिभान्ननले ती व्यक्तिका नजिकका आफन्तसँग पनि सम्पर्क गरी उनी सुरक्षित रूपमा फर्किएको पुष्टि गरेको बताए। उनका अनुसार ती व्यक्ति अगस्ट २५ (९ भदौ) मा दिउँसो ३ः२६ बजे नागथली भ्यूपोइन्टमा थिए। उक्त क्षेत्रका सडक र पुलमा क्षति पुगेका कारण उनी केही समय सम्पर्कविहीन बनेका थिए। त्यहाँ विद्युत्, पानी र इन्टरनेटको सुविधा नहुँदा उनको आवागमन र सञ्चारमा थप समस्या भएको उनले बताए।

उनका अनुसार यो घटनापछि नेपालमा बेपत्ता मलेसियाली नागरिकको संख्या ५५ बाट ५४ मा झरेको छ। तर, यो संख्या घट्नु मात्र नभई ३७ दिनको अनिश्चिततापछि एउटा परिवार आफ्नो आफन्तसँग पुनः जोडिन सकेको विषय भएको उनले बताए।

प्रकाशित: १६ आश्विन २०८३ १४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App