१७ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

कालीगण्डकी बाढीको असर : राहुघाटको परीक्षण उत्पादन रोकियो

गत साताको झरिपछि कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरेको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन रोकेको छ।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाटको परीक्षण उत्पादन सुरु गरेको एक साता नपुग्दै असोज ८ देखि ११ गतेको वर्षापछि बाढी आएर क्षति पुगेको हो।

आयोजना प्रमुख राजबहादुर विष्टले कालीगण्डकीको बाढीले रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा रहेको विद्युत्गृहबाट पानी बगाउने ‘टेलरेस डग’को आधा भाग बगाएको र स्वीचयार्डमा रहेको ट्रान्सफर्मर नजिकैसम्म कटान गरेको बताए।

‘पहुँचमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। झिँ र दग्नामको सिमानामा रहेको बाँधमा गेग्रान आएर थुप्रिएको छ’, उनले भने, ‘विपद्का कारण परीक्षणका लागि विद्युत् उत्पादन रोकिएको छ। कालीगण्डकीको कटानबाट जोखिममा परेको ट्रान्सफर्मरलाई जोगाउने प्रयास गरिरहेका छौँ।’

कालीगण्डकी नदीमा गेग्रान मिसिदा बाँढीको सतह बढेर ग्राबेलको बेस भएको कालीगण्डकी किनारबाट विद्युत्गृहतर्फ कटान गरेर बग्दा चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको करिब १५० मिटर सडक पनि बगाएको छ।

विद्युत्गृहस्थलमा निर्माण गरिएको ‘स्वीचयार्ड’ पनि नदी कटानको उच्च जोखिममा परेको छ।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाले परीक्षण उत्पादन थालेको दुई दिनमा बाढीले क्षति पुर्याएपछि उत्पादन बन्द हुन पुगेको बताए।

पन्ध्र दिनको परीक्षण उत्पादन सम्पन्न गरेपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरे पनि बाढीले क्षति पुर्याएपछि अब एक महिनापछि मात्र व्यावसायिक उत्पादन सुरु गर्न सकिने उनले उल्लेख गरे।

राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन र उपकरण पनि बाढीले बगाएको छ।

त्यसैगरी, कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी करिडोरको २२० केभी क्षमताको दाना–कुस्मा प्रसारण लाइनका टावर बगाएको छ।

कालीगण्डकीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका(१, दोवाको भिरकाटपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले जानकारी दिए।

दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण–४, नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण सेवा बन्द भएको छ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा ग्रिड महाशाखाका प्राविधिकसहितको टोलीले क्षतिग्रस्त प्रसारण लाइन र टावरको स्थलगत अनुगमन सुरु गरी क्षतिको विवरण सङ्कलन थालेको छ।

ग्रिड शाखाका प्रमुख रोशन खड्काले प्रसारण लाइन र टावरमा पुगेको क्षतिको स्थलगत निरीक्षण गरी विद्युत् आपूर्ति गराउने वैकल्पिक उपायको खोजी र प्रसारण लाइन पुनर्निर्माणलाई अघि बढाउन प्राविधिकसहितको टोली क्षतिग्रस्त स्थलमा परिचालन गरिएको जानकारी दिए।

प्रकाशित: १६ आश्विन २०८३ १९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App