रूसका विदेशमन्त्री सर्गेई लाभरोभले जर्मनीलाई युक्रेनको मुख्य समर्थक बन्दै युरोपमा सैन्य शक्ति बढाउने बाटोमा अघि नबढ्न चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै लाभरोभले जर्मनीको पछिल्लो नीतिले कहाँ पुर्याउन सक्छ भन्दै प्रश्न गरेका हुन्। उनले दोस्रो विश्वयुद्धबाट जर्मनीले पाठ नसिकेको हो कि भन्दै आलोचना पनि गरे।
लाभरोभले शनिबार जर्मन विदेशमन्त्री जोहान वाडेफुलसँग भएको भेटपछि यस्तो प्रतिक्रिया दिएका हुन्। सन् २०२२ मा रूसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि दुई देशका विदेशमन्त्रीबिच भएको यो पहिलो प्रत्यक्ष भेट थियो।
जर्मन विदेशमन्त्री वाडेफुलको आग्रहमा भएको भेटमा उनले रूसलाई जर्मनी, युरोप र नेटो गठबन्धनतर्फको ‘खतरनाक तनाव बढाउने बाटो’ छाड्न आग्रह गरेका थिए। उनले युक्रेनमा युद्ध अन्त्य गर्न रूसको नेतृत्वबाट वास्तविक तत्परता आवश्यक रहेको बताएका थिए।
तर भेटपछि लाभरोभले जर्मन विदेशमन्त्रीको पहलबाट कुनै नयाँ कुरा नआएको बताए। उनले वाडेफुलले रूसको आलोचना गर्ने आफ्नो सार्वजनिक अडान नै दोहोर्याएको बताएका हुन्।
पछिल्ला केही सातामा रूस र जर्मनीबिचको सम्बन्ध थप चिसिएको छ। लाइपजिग विमानस्थलमा ड्रोन आक्रमणको प्रयास भएको घटनामा जर्मनीले रूसमाथि दोष लगाएको थियो। रूसले भने उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।
लाभरोभले जर्मनीलाई कालो सागर (ब्ल्याक सी) मा रूसको आक्रमणबाट क्षतिग्रस्त वा लक्षित भएको कुनै व्यावसायिक जहाजको नाम दिनसमेत चुनौती दिए। उनले जर्मनीले लगाएका केही आरोपलाई प्रमाणविहीन दाबीका रूपमा प्रस्तुत गरे।
उनले जर्मनी र जापानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा स्थायी सदस्य बन्न खोजे रूसले त्यसलाई भिटो गर्ने पनि बताए। दोस्रो विश्वयुद्धमा रूस, बेलायत र अमेरिकासँग जर्मनी र जापान युद्धमा रहेका थिए।
लाभरोभले पश्चिमी देशहरूले रूसलाई रणनीतिक रूपमा पराजित गर्न खोजिरहेको आरोप लगाउँदै यस्तो प्रयासले युद्धलाई अझ जटिल बनाउने चेतवनी दिए। उनले रूस अझै पनि विश्व राजनीतिमा बलियो शक्ति रहेको दाबी गरेका छन्।
यसैबिच, युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको वार्तालाई लिएर रूस अझै पनि सम्झौताको सम्भावनामा रहेको लाभरोभले बताए। उनले रूस त्यस्तो सहमतिमा फर्कन तयार रहेको बताएका हुन्।
लाभरोभले विश्व व्यवस्था परिवर्तन हुँदै गएको दाबी गर्दै आफ्नो देशले बहुध्रुवीय विश्व व्यवस्थाको समर्थन गर्ने उल्लेख गरेका छन्। रूसले पश्चिमा देशसँगको सम्बन्धमा तनाव बढे पनि विश्वका अन्य देशसँग आफ्नो कूटनीतिक सम्बन्ध बलियो रहेको देखाउने प्रयास गर्दै आएको छ।
युक्रेन युद्धका कारण रूस र पश्चिमी देशबिचको विभाजन थप गहिरिएको छ। युद्धका क्रममा दुवै पक्षले एकअर्काविरुद्ध लामो दूरीका ड्रोन, क्षेप्यास्त्र र अन्य हतियार प्रयोग गर्दै आएका छन्।
युक्रेनले रूसमाथि युद्ध अन्त्यका लागि दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्दै आएको छ। रूसले भने आफ्नो सुरक्षा र रूसी भाषी जनताको अधिकार सुनिश्चित गर्न युद्ध आवश्यक रहेको दाबी गर्दै आएको छ। एजेन्सी
प्रकाशित: ११ आश्विन २०८३ १३:३६ आइतबार





