अमेरिकाको मिनियापोलिसमा अध्यागमन तथा भन्सार प्रवर्तन अधिकारीले ३७ वर्षीया अमेरिकी नागरिक रेनी निकोल गुडलाई गोली हानी हत्या गरेका छन्।
संघीय अधिकारीहरूले यो आत्मरक्षामा गोली चलाएको दाबी गरेका छन्। तर सहरका मेयर ज्याकब फ्रेले यसलाई 'झूट' भन्दै लापरबाही तथा अनावश्यकको संज्ञा दिएका छन्।
घटना राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ठुलो अध्यागमन कारबाहीको क्रममा भएको हो, जसमा मिनियापोलिस र सेन्ट पल क्षेत्रमा दुई हजारभन्दा बढी अधिकारी खटाइएका छन्।
मृतक गुड कोलोराडोकी मूल बासिन्दा थिइन्, जो मिनियापोलिसमा बस्दै आएकी थिइन्। उनले आफूलाई कवि, लेखक तथा आमा भनेर सामाजिक सञ्जालमा वर्णन गरेकी थिइन्। उनकी आमा डोना ग्यांकरले उनलाई दयालु र सहयोगी भनेकी छन्।
भिडियोहरूमा अधिकारीहरूले गुडको गाडी नजिक आउँदा उनले गाडी अगाडि बढाएकी देखिन्छिन्। तर गाडीले अधिकारीलाई छोएको वा कुल्चने प्रयास गरेको स्पष्ट छैन। गोली लागेपछि उनी गाडीसहित नजिकै पार्किङ गरिएका गाडीमा ठोक्किएकी थिइन्। घटनापछि हजारौँ प्रदर्शनकारी जम्मा भएका छन्, साँझमा शोक सभा तथा विरोध जारी छ।
गृह सुरक्षा सचिव क्रिस्टी नोएमले अधिकारीले आत्मरक्षामा गोली चलाएको र महिलाले गाडीबाट अधिकारीलाई कुल्चने प्रयास गरेको बताएकी छन्। उनले यसलाई 'घरेलु आतंकवादको कार्य' भनेकी छन्।
उता, मेयर फ्रेले अध्यागमन अधिकारीहरूलाई सहरबाट हट्न आह्वान गरेका छन्। मिनेसोटा गभर्नर टिम वाल्जले गोलीकाण्डलाई 'रोक्न सकिने' तथा 'अनावश्यक' भनेका छन्।
उनले शान्तिपूर्ण विरोधका लागि आह्वान गरेका छन्। प्रहरी प्रमुख ब्रायन ओहाराले महिलाले कसैलाई हानि पुर्याउने कुनै संकेत नदिएको बताए। राज्य अधिकारीहरूले संघीयसँग मिलेर अनुसन्धान गर्ने जनाएका छन्।
घटनाले सहरमा तनाव बढाएको छ र शान्ति कायम राख्न तथा स्वतन्त्र अनुसन्धानको माग गरिएको छ। एजेन्सी
प्रकाशित: २४ पुस २०८२ ०८:०४ बिहीबार





