दक्षिणपश्चिमी जापानको ओइटा सहरको एक बस्तीमा मंगलबार साँझ सुरु भएको भीषण आगोले बुधबार १७० भन्दा बढी घरहरू जलाइदिएको छ। तीव्र हावाले आगो फैलिँदा १७० भन्दा बढी मानिस विस्थापित भएका छन्।
जापानको अग्नि तथा विपत्ति व्यवस्थापन संस्थाका अनुसार कम्तीमा १७० घर पूर्ण रूपमा जलेका वा क्षतिग्रस्त भएका छन्। बेपत्ता ७० वर्षका एक पुरुषको शव भेटिएको छ। उद्धार टोलीले खोजीकार्य जारी राखेको छ।
आगो माछा मार्ने बन्दरगाह नजिकैबाट सुरु भएको थियो, जुन वरपरका घर र जगंलमा फैलियो। ओइटा क्युशो टापुमा पर्छ, जहाँ यस्तो दुर्लभ आगलागीले स्थानीयहरूलाई ठूलो विपत्ति निम्त्याएको छ।
दिउँसोका टेलिभिजन दृश्यहरूमा जलेका घरहरूबाट बाक्लो धुवाँ उडिरहेको देखिन्थ्यो। तर ज्वाला धेरैजसो निभिसकेको छ।
एक स्थानीय बासिन्दाले क्योदो न्युजसँग भने, ‘आगो आँखा झिम्क्याउँदा फैलियो। मलाई केही उठाउने फुर्सदै भएन, जीवन बचाउन मात्रै भाग्न सकेँ।’
दर्जनौँ अग्नि इन्जिन र २०० भन्दा बढी अग्निनियन्त्रक खटिएका छन्। आगो सुरु भएको २० घण्टा बितिसक्दा पनि पूर्ण नियन्त्रणमा आएको छैन। जापानको स्वयंसेवी सेनाले दुई सैन्य हेलिकप्टरबाट पानी छर्केर सहयोग गरिरहेको छ।
प्रधानमन्त्री साने ताकाइचिले सामाजिक सञ्जालमार्फत पीडितहरूप्रति सहानुभूति व्यक्त गरेकी छन्। उनले प्रभावित नागरिकहरूलाई आवश्यक राहत तथा सहयोग ‘अधिकतम रूपमै उपलब्ध गराइने’ आश्वासन दिइन्। एजेन्सी
प्रकाशित: ३ मंसिर २०८२ १३:११ बुधबार





