दक्षिणी लेबनानमा बुधवार राति (बिहीबार बिहान) हिजबुल्लाह कार्यकर्ताहरूसँग भएको गोली हानाहानमा एक इजरायली सैनिकको मृत्यु भएको छ। इजरायली सेनाले बिहीबार यसबारे आधिकारिक घोषणा गरेको हो।
मारिएका सिपाही पेटाह टिक्वाका गोलानी ब्रिगेड अन्तर्गत रिकनेसान्स युनिटका २१ वर्षीय स्टाफ सार्जेन्ट ओरी ग्रीनबर्ग हुन्। दक्षिणी लेबनानमा हिजबुल्लाहविरुद्ध इजरायलले सुरु गरेको नयाँ स्थल आक्रमणमा मारिने उनी तेस्रो सैनिक भएको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएको छ।
सेनाको प्रारम्भिक अनुसन्धान अनुसार बिहान २ बजे (स्थानीय समय अनुसार) तिर गोलानी सिपाहीहरूले आफ्नो कार्यक्षेत्रमा केही हिजबुल्लाह कार्यकर्ताहरू पहिचान गरेका थिए। सो क्रममा दुवै पक्षबिच गोली हानाहान हुँदा ग्रीनबर्ग मारिएका हुन्। घटनामा अर्का एक सैनिक हल्का घाइते भएका थिए।
स्थानीय सञ्चार माध्यमका अनुसार झडपका क्रममा गोलानी सिपाहीहरूले धेरै हिजबुल्लाह कार्यकर्ताहरूलाई मार्न सफल भएका छन्। बाँकीको खोजी जारी राखेको इजरायली सेनाले जानकारी दिएको छ।
प्रकाशित: १२ चैत्र २०८२ १४:०५ बिहीबार





