अमेरिका र उसका सहयोगीहरूको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको एक महिना नपुग्दै गाजामा इजरायलले आक्रमण गरेको छ। हमासमाथि सम्झौता तोडेको आरोप लगाउँदै इजरायलले आक्रमण गरेको हो।
हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ। गाजा सिभिल डिफेन्सका अनुसार गाजा सहरको अल-सब्रा छिमेकमा कम्तीमा तीन महिला र एक पुरुषको मृत्यु भएको छ भने दक्षिणी गाजा पट्टीको खान युनिसमा दुई बालबालिका र एक महिलासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले एक विज्ञप्तिमा सेनालाई ‘गाजा पट्टीमा तत्काल शक्तिशाली हमला गर्न’ निर्देशन दिएको उल्लेख छ। सीएनएनका अनुसार गाजामा हमला गर्ने निर्णयको बारेमा अमेरिकालाई सूचित गरिएको थियो।
अर्कोतिर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबाट गाजाको युद्धविराम खतरामा नपर्ने स्पष्ट पारेका छन्। आफ्ना सैनिक मारिएमा इजरायलले जवाफ दिन पाउने उनको तर्क छ।
ट्रम्पले एयर फोर्स वनमा इजरायलले मंगलबार जारी युद्धविरामको बाबजुद हवाई आक्रमण गरेको भनेर गरिएको प्रश्नमा भने, ‘तिनीहरू(हमास)ले एक इजरायली सैनिकलाई मारे। त्यसैले इजरायलीहरूले जवाफी आक्रमण गरे। र उनीहरूले जवाफी आक्रमण गर्नुपर्छ।’ गाजा युद्धविराम पछिल्लो पटक २० अक्टोबर २०२५ मा भएको थियो।
एक सैन्य अधिकारीले हमासले तथाकथित पहेंलो रेखाको पूर्वमा इजरायली सेनामाथि आक्रमण गरेको आरोप लगाए। दक्षिणी गाजाको रफाह क्षेत्रमा सेनाहरू आरपीजी र स्नाइपर फायरको सिकार भएको अधिकारीले बताए। रक्षामन्त्री इजरायल काट्जले इजरायल रक्षा बलका सैनिकहरूमाथि भएको आक्रमणको लागि हमासले ‘ठूलो मूल्य’ चुकाउने धम्की दिएका छन्। इजरायलले ‘ठूलो शक्तिका साथ’ जवाफ दिने उनको भनाइ छ।
हमासले इजरायलले गरेको हमलालाई ‘आपराधिक बमबारी’ भन्दै निन्दा गरेको छ। हमासले यो युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताएको छ। उसले इजरायल रक्षा बल सैनिकहरूलाई आक्रमण गरेको कुरालाई पनि अस्वीकार गरेको छ। यद्यपि अझै पनि युद्धविरामप्रति प्रतिबद्ध रहेको बताएको छ।
मंगलबारको सुरुमा, नेतान्याहूको कार्यालयले गाजा युद्धविराम सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ गरेको बताएको थियो। इजरायललाई अवशेष फिर्ता गरेपछि हमासले गाजामा बेपत्ता १३ बन्धकहरूमध्ये कुनैको पनि अवशेष थिएन। एजेन्सी
प्रकाशित: १२ कार्तिक २०८२ ०८:४२ बुधबार





