२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१४औं दिनमा इरान-अमेरिका द्वन्द्व : क्यास्पियन सागरसम्म फैलियो, तेहरान र किभबिच तनाव बढ्यो

इरानमाथि लगातार १३ रातको भीषण अमेरिकी बमबारीपछि १४औं दिनमा शनिबार इरानमाथि कुनै पनि प्रत्यक्ष हवाई आक्रमण भएको छैन। 

फेब्रुअरी २८ देखि जारी यो द्वन्द्वका क्रममा दुई हप्तामा पहिलो पटक आक्रमण नभएको यो पहिलो घटना हो। यद्यपि, होर्मुज जलमार्गमा अझै पनि तनाव कायम छ। अमेरिका तथा इरानबिचको युद्धविरामको स्थिति भने अस्पष्ट बनेको छ।

यसैबिच, क्यास्पियन सागरमा इरानी जहाजमाथि युक्रेनले गरेको आक्रमणले नयाँ भूराजनीतिक तनाव सिर्जना गरेको छ। किभले क्यास्पियन सागरमा इरानी सैन्य कार्गो र व्यावसायिक जहाजलाई लक्षित गरी आक्रमण गर्दा कम्तीमा एक नाविकको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले मध्यपूर्वमा आफ्नो सैन्य अभियानका लागि इरानलाई सघाएको र रूसलाई सैन्य सामग्री ढुवानी गर्ने जहाजहरूलाई आफूले निशाना बनाएको बताएका छन्।

घटनालगत्तै इरानले तेहरानस्थित युक्रेनका कूटनीतिज्ञलाई बोलाएर कडा आपत्ति जनाएको छ। इरानी विदेश मन्त्रालयले यसलाई ‘शत्रुतापूर्ण र आपराधिक’ आक्रमणको संज्ञा दिँदै संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन भएको बताएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालाससँग फोनमा कुराकानी गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय समुदायलाई यस घटनाको कडा प्रतिवाद गर्न आह्वान गरेका छन्।

अर्कोतर्फ, यमनका हुथी विद्रोहीहरूले होदेइदाह बन्दरगाह र कामरान टापुमा साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणको बदलास्वरूप लाल सागरको तटमा रहेको जिजान र यान्बुस्थित साउदी अरामको तेल भण्डारण केन्द्रहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेका छन्। साथै, इजरायली सेनाले गाजामा कम्तीमा ६ प्यालेस्टिनीहरूको ज्यान लिएको छ भने कब्जा गरिएको पश्चिम किनारमा पनि सैन्य छापा र आक्रमण तीव्र पारेको छ।

अमेरिकाले इरानमाथि लगाएको नौसेना नाकाबन्दी र समुद्री व्यापारमाथिको दबाब जारी राखेको छ। विश्लेषकहरूका अनुसार दुई देशबिच गत महिना भएको समझदारीपत्र अहिले प्रभावकारी नभए पनि अमेरिका र इरानले युद्धविराम पुनर्स्थापित गर्ने र द्वन्द्व अन्त्य गर्ने उपाय खोज्नका लागि तल्लो तहमा अनौपचारिक सम्पर्क गरिरहेका छन्। एजेन्सी 

प्रकाशित: १० श्रावण २०८३ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App