७ भाद्र २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानको कडा चेतावनी : आर्थिक युद्धमा अमेरिकालाई साथ दिने देशलाई शत्रु मानिनेछ

फाइल तस्बिर

इरानले अमेरिकाले इरानविरुद्ध चलाएको आर्थिक युद्धमा साथ दिने देशहरूलाई शत्रु मान्ने भन्दै कडा चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अर्थतन्त्रलाई धराशायी बनाउन आफ्ना सहयोगीहरूलाई दबाब दिइरहेका बेला इरानले यस्तो चेतावनी दिएको हो। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले सरकारी टेलिभिजनमार्फत भने, ‘हामी सबै देशहरूलाई घोषणा गर्छौं कि संयुक्त राज्य अमेरिकाले चलाएको आर्थिक युद्धमा सामेल नहुनुहोस्।’ 

उनले थपे, ‘हामीविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने काममा भाग लिने कुनै पनि देशलाई शत्रु मानिन्छ।’ यदि सम्बन्धित देशहरूले अमेरिकाबाट आफूलाई टाढा राख्न अस्वीकार गरे भने इरानले उनीहरूको हितलाई हानि पुर्‍याउने धम्की समेत उनले दिए।

रेजाईले अहिलेसम्म अमेरिकी सैन्य अड्डाहरूलाई मात्र लक्षित गरिएको स्पष्ट पार्दै, यदि उनीहरूले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउन चाहेमा अमेरिकाका तेल र आर्थिक कम्पनीहरूमाथि पनि प्रहार गर्ने धम्की दिए। उनले ट्रम्पले कारबाही गरेमा त्यसको टकराव भूकम्पजस्तै हुने बताए। 

चीनले अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ। उता, इरानको प्रमुख व्यापारिक साझेदार संयुक्त अरब इमिरेट्सले अर्को सूचना नभएसम्म तेहरानसँगको सबै व्यापार र वित्तीय लेनदेन निलम्बन गरेको छ।

इरानका राष्ट्रपति मसूद पेजेश्कियानले देश पूर्ण-स्तरीय आर्थिक, सैन्य र सुरक्षा युद्धमा रहेको बताएका छन्। उनले अमेरिकाले इरान अर्को भेनेजुएला बन्ने गलत भविष्यवाणी गरेको तर इरानले आफ्नो प्रतिरोध, ऐक्यबद्धता र एकताले संसारलाई चकित पारेको बताए।

राष्ट्रपति पेजेश्कियानले युद्धले कुनै समाधान नदिने र लामो समयसम्मको अनिश्चितताले देशको अर्थतन्त्रमा क्षति पुर्‍याइरहेको उल्लेख गरे। नयाँ द्वन्द्वको खतरा कायम रहँदासम्म लगानी आकर्षित गर्न गाह्रो हुने उनको भनाइ छ।

उनले शत्रुले समाजमा विभाजन र फाटो सिर्जना गर्ने आशा राखे पनि आफूहरू विभाजन र अहंकारबाट बच्न प्रयास गर्ने बताए। साथै, सरकार अर्थतन्त्रमा महत्त्वपूर्ण समस्याहरू भएकोमा लज्जित रहेको तर यो असमान युद्धको सामना गर्दै जनताको सेवा गर्न उभिरहेको उनले उल्लेख गरे। एजेन्सी

प्रकाशित: ७ भाद्र २०८३ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App