इरानले तेस्रो मुलुकमार्फत आएको ४८ घण्टे युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ। इरानको अर्धसरकारी समाचार संस्था फार्स न्यूज एजेन्सीका अनुसार बुधबार तेहरान पुर्याइएको सो प्रस्तावलाई इरानले स्वीकार गर्न मानेन।
यसैबिच, इरानले शुक्रबार अमेरिकी एफ-१५ई स्ट्राइक ईगल लडाकु विमान खसालिएको दाबी गरेको छ। उक्त विमान इरानभित्रै खसालिएको थियो। जानकारी अनुसार यसका दुई चालक दल सदस्यमध्ये एकजनाको उद्धार गरिएको छ। अर्का एक जना अझै बेपत्ता रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। खोजी तथा उद्धार अभियानका क्रममा गएका दुईवटा ब्ल्याक हक हेलिकोप्टरमाथि पनि इरानले आक्रमण गरेको थियो। तर चालक दल सदस्यहरू सुरक्षित रहेको बताइएको छ।
इरानले शुक्रबार नै अर्को अमेरिकी ए-१० अट्याक एयरक्राफ्ट (वारथोग) लाई होर्मुज नजिकै निशाना बनाएको दाबी गरेको छ। अमेरिकी स्रोतहरूका अनुसार उक्त विमान प्रभावित भई दुर्घटनाग्रस्त भएको थियो। तर यसका एकल पाइलटलाई सकुशल उद्धार गरिएको छ।
अमेरिकी अधिकारीहरूले विमान खसालिएको वा दुर्घटनामा परेको बारे पूर्ण रूपमा पुष्टि गरे पनि थप विवरण दिन अस्वीकार गरेका छन्।
यस घटनाका बाबजुद अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसीसँगको कुराकानीमा उनले भने, ‘होइन, पटक्कै होइन... यो युद्ध हो, हामी युद्धमा छौँ।’ उनले वर्तमान अवस्थामा पनि कूटनीतिक प्रयास जारी रहने स्पष्ट पारेका छन्। राष्ट्रपति ट्रम्पले खोजी तथा उद्धार अभियानबारे थप जानकारी दिन अस्वीकार गर्दै यसलाई संवेदनशील सैन्य मामिला भनेका छन्।
इरानको तस्निम न्यूज एजेन्सीका अनुसार ए-१० विमानलाई होर्मुज नजिकै समुद्रमा निशाना बनाइएको थियो। यद्यपि, अमेरिकी सञ्चारमाध्यमले भने ए-१० विमान दुर्घटनाग्रस्त भएको र त्यसका पाइलटलाई सकुशल उद्धार गरिएको जानकारी दिएका छन्।
अमेरिकी राष्ट्रपतिले हालै सन् २०२७ आर्थिक वर्षका लागि १.५ ट्रिलियन डलरको रेकर्ड रक्षा बजेट प्रस्ताव गरेका छन्, जुन सन् २०२६ को तुलनामा ४२ प्रतिशतले बढी छ। हालको रक्षा बजेट लगभग १ ट्रिलियन डलर रहेको छ भने नयाँ प्रस्तावमा पेन्टागनका लागि १.१ ट्रिलियन डलर र औद्योगिक आधारका लागि ३५० बिलियन डलर छुट्याइएको छ। यो बजेटले मुख्यतया सैन्य पूर्वाधार सुदृढीकरण, गोल्डेन डोम क्षेप्यास्त्र रक्षा प्रणालीको विकास, नयाँ युद्धपोत निर्माण र सैनिकहरूको तलब ५ देखि ७ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको छ।
अर्कोतर्फ, अमेरिका र इजरायलको आक्रमणका बाबजुद इरानले आफ्ना क्षेप्यास्त्र बंकरहरू तीव्र गतिमा सक्रिय बनाइरहेको दाबी गरिएको छ। अमेरिकी गुप्तचर रिपोर्टका अनुसार इरानले नक्कली लन्चरहरू पनि प्रयोग गरिरहेकाले कति वास्तविक लन्चर नष्ट भए भन्ने स्पष्ट छैन।
यसैबिच, इरानले इजरायलको नेगेव क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको छ। सो आक्रमणबाट नेगेवको औद्योगिक क्षेत्र (जस्तै नेओट होभाभ/रामात होभाभ) मा आगलागी भयो। तर मानवीय क्षति भने नभएको बताइएको छ। आक्रमणका क्रममा इजरायलका विभिन्न क्षेत्रमा चेतावनीका साइरनहरू बजाइएको थियो। एजेन्सी
प्रकाशित: २१ चैत्र २०८२ ०६:५८ शनिबार




