१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको ‘वार्ता’ दाबीलाई ‘नक्कली’ भन्दै इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार जारी राख्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो र फलदायी वार्ता भइरहेको दाबी गरेकै दिन इरानी अधिकारीहरूले उक्त कुरालाई नक्कली समाचार भनेर खारेज गरेका छन्। यसबिच इरानले इजरायलमाथि क्षेप्यास्त्रको आक्रमण जारी राखेको छ।

इजरायली सेनाका अनुसार मंगलबार पनि इरानी क्षेप्यास्त्रका कारण तेल अभिभ क्षेत्रलगायत विभिन्न ठाउँमा हवाई आक्रमणको साइरन बज्यो। केही ठाउँमा क्षेप्यास्त्रका टुक्राहरू खसेर क्षति पुगेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार तेल अभिभ क्षेत्रमा ६ जना सामान्य घाइते भएका छन्। 

इजरायलले पनि इरानमाथि हमला जारी राखेको छ। उसले क्षेप्यास्त्र क्षेत्रमा काम गरिरहेका दुई इरानी वैज्ञानिकलाई मारेको दाबी गरेको छ। 

यसअघि सोमबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिका र इरानबिच मध्यपूर्वको शत्रुता अन्त्य गर्न राम्रो र फलदायी वार्ता भएको दाबी गरेका थिए। उनले इरानको ऊर्जा पूर्वाधारमा बम प्रहार गर्ने योजना पाँच दिनका लागि स्थगित गरेको बताएका थिए। ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुशनरले इरानी पक्षसँग कुराकानी गरिरहेको र धेरैजसो बुँदामा सहमति भइसकेको दाबी दोहोर्‍याए।

ट्रम्पको यो घोषणापछि विश्व बजारमा कच्चा तेलको मूल्य केही समय घटेको थियो। तर इरानको खण्डनपछि मूल्य फेरि बढेर सय डलर प्रति ब्यारल नाघेको छ।

इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफले ट्रम्पको दाबीलाई झुटो भन्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अमेरिकासँग कुनै वार्ता भएको छैन। नक्कली समाचारहरू वित्तीय र तेल बजार हेरफेर गर्न तथा अमेरिका र इजरायल फसेको दलदलबाट बच्न प्रयोग गरिन्छ।’

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले पनि ट्रम्पको भनाइलाई मनोवैज्ञानिक अपरेशन भनेर आफ्ना लडाकुहरूमा यसको कुनै प्रभाव नपर्ने बताएको छ। इरानी विदेश मन्त्रालयले पनि कुनै प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारेको छ।

यद्यपि ट्रम्पले वार्ता जारी रहेको र सम्झौता सम्भव भएको दाबी गरिरहेका छन्। केही स्रोतले पाकिस्तानको इस्लामावाद वा अन्य माध्यमबाट अप्रत्यक्ष कुराकानीको सम्भावना उल्लेख गरे पनि इरानले कुनै प्रत्यक्ष वार्ता अस्वीकार गर्दै आएको छ।

फेब्रुअरी २८ देखि जारी युद्धमा इरानतर्फ एक हजार पाँच सयभन्दा बढी, इजरायलतर्फ केही दर्जन र अमेरिकी पक्षतर्फ पनि केही सैनिकसहित कुल दुई हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। इरानले विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने हर्मुज जलमार्ग बन्द गर्दा विश्व ऊर्जा बजारमा ठूलो असर परेको छ। एजेन्सी

प्रकाशित: १० चैत्र २०८२ १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App