इन्डोनेसियामा २४० जना यात्रु सवार रहेको ‘भिर्गो ट्रान्सपोर्ट ८’ नामक यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको छ।
पूर्वी जाभाको सुराबायाबाट बोर्नियो द्वीपको दक्षिण कालीमन्तान प्रान्तको राजधानी बान्जारमासिनतर्फ जाँदै गरेको जहाज सम्पर्कविहीन भएको हो। जहाजसँग सम्पर्क टुटेपछि आइतबार इन्डोनेसियाली उद्धार टोलीले खोजी अभियान सुरु गरेको छ।
बान्जारमासिन खोज तथा उद्धार कार्यालयका अनुसार जहाजको यात्राका क्रममा सञ्चार सम्पर्कमा समस्या आएको जानकारी प्राप्त भएको थियो। प्रारम्भिक विवरणअनुसार जहाजको अन्तिम अवस्थिति जाभा सागरमा बान्जारमासिनस्थित एउटा घाटबाट करिब १४८ किलोमिटर टाढा रहेको बताइएको छ।
अधिकारीहरूका अनुसार जहाजसँग सम्पर्क विच्छेद भएपछि खोजी तथा उद्धार अभियान सुरु गरिएको हो। हालसम्म कुनै यात्रु हताहत भएको जानकारी प्राप्त भएको छैन। उद्धार टोलीले जहाजको अवस्थिति पत्ता लगाउन खोजी जारी राखेको छ।
प्रकाशित: २८ भाद्र २०८३ ०८:५८ आइतबार





-600x400.jpg)