दक्षिण अफ्रिकाको प्रिटोरिया नजिकैको एक होस्टेलमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। कुल २५ जनालाई गोली हानेको प्रहरीले बताएको छ।
शनिबार बिहान होस्टेलभित्रको बारमा केही मानिसहरू मदिरा पिइरहेका बेला आक्रमण भएको थियो। मृत्यु हुनेमा एक ३ वर्षीय बालक, एक १२ वर्षीय बालक र एक १६ वर्षीया बालिका रहेका छन्। ३ वर्षीय बालक अवैध बारको मालिकको छोरा भएको बताइएको छ।
प्रहरी प्रवक्ता एथेलिन्डा माथेले आक्रमणको उद्देश्य स्पष्ट नभएको र अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको बताइन्। अवैध मदिरा पसलको बारेमा विवाद चलिरहेको थियो।
पीडितहरूमध्ये दश जनाको घटनास्थलमै मृत्यु भयो र एक जना घाइतेको पछि अस्पतालमा मृत्यु भयो। अन्य १४ जनाको हाल उपचार भइरहेको छ। अवैध मदिरा पसलका मालिक पनि घाइतेमध्ये एक हुन्।
आक्रमण भएको ठाउँमा एउटा अवैध मदिरा पसल थियो। प्रहरी प्रवक्ता माथेका अनुसार प्रहरीले हत्याको ११ वटा मुद्दा र हत्या प्रयासको १४ वटा मुद्दा दर्ता गरेको छ। घटना होस्टेलमा सञ्चालन भइरहेको अवैध बारमा भएको थियो।
स्थानीय समय अनुसार बिहान ४:३० बजेतिर तीन जना अज्ञात आक्रमणकारी भवनमा प्रवेश गरे र मानिसहरूमाथि अन्धाधुन्ध गोलीबारी गर्न थाले।
प्रहरी प्रवक्ताले देशमा सञ्चालित अवैध मदिरा पसलहरू प्रशासनका लागि चुनौती बनेको बताए। माथेले भनिन्, 'अनुमतिबिनाको मदिरा पसलहरू हाम्रो लागि प्रमुख समस्या हुन्, किनकि धेरैजसो घटनाहरू यहाँ हुन्छन्। यहाँ झगडा हुन्छ, गलतफहमी बढ्छ र मानिसहरूले एकअर्कामाथि आक्रमण गर्छन्। अप्रिल र सेप्टेम्बरको बीचमा हामीले ११ हजार ९७५ वटा अवैध मदिरा पसलहरू बन्द गर्यौं।'
दक्षिण अफ्रिका विश्वमा सबैभन्दा बढी हत्या दर भएका देशहरू मध्ये एक हो। संयुक्त राष्ट्र संघको २०२३-२४ को तथ्याङ्क अनुसार प्रति एक लाख मानिसहरूमा ४५ हत्याहरू थिए। प्रहरीका अनुसार अप्रिल र सेप्टेम्बरको बीचमा प्रत्येक दिन औसतमा ६३ जनाको हत्या भएको थियो।
प्रकाशित: २१ मंसिर २०८२ ०८:२६ आइतबार





