२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रधानन्यायाधीशले भेट्न अस्वीकार गरेपछि विपक्षीले सर्वोच्च अदालतसम्म जुलुस निकाल्ने

भारतका प्रधानन्यायाधीश सूर्य कान्तले भेट्न अस्वीकार गरेपछि विपक्षी दलहरूले सोमबार सर्वोच्च अदालतसम्म जुलुस निकाल्ने भएका छन्।

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको नेतृत्वमा विपक्षी नेताहरूले मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) रोक्न र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ज्ञापनपत्र बुझाउने योजना बनाएका हुन्।

प्रधानन्यायाधीशले विपक्षीका मागसँग सम्बन्धित मुद्दा अदालतमा विचाराधीन रहेकाले प्रशासनिक रूपमा हस्तक्षेप गर्न नमिल्ने बताए। यस्ता विषयमा रिट वा निवेदन दर्ता भए मंगलबार सुनुवाइ गर्न सकिने उनको भनाइ छ। 

तर कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले विपक्षी दलहरूले प्रधानन्यायाधीशसँग कुनै माग राख्न नभई आफ्ना चिन्ता व्यक्त गर्दै हस्तक्षेपको आग्रह गर्न चाहेको उल्लेख गरेका छन्। 

जुलुस स्थानीय समयअनुसार दिउँसो १:३० बजे दिल्लीको कनट प्लेसबाट सुरु भएर सर्वोच्च अदालत पुगेर टुंगिनेछ। त्यसमा विपक्षी दलहरूको गठबन्धन ‘इन्डिया’का नेता, सांसद, विद्यार्थी र नागरिक समाजका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

विपक्षी दलहरूले मतदाता नामावलीमा अनियमितता भएको आरोप लगाउँदै आएका छन्। निर्वाचन आयोगको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै प्रमुख निर्वाचन आयुक्त कुमारको राजीनामा दिनुपर्ने माग उनीहरूको छ। 

प्रकाशित: २६ आश्विन २०८३ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App