२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा हुथी प्रधानमन्त्रीसहित मन्त्रीहरू मारिए, ‘बदला’ लिने वाचा

यमनको राजधानी सानामा इजरायली हवाई आक्रमणमा हुथी सरकारका प्रधानमन्त्री अहमद अल–राहवीको मृत्यु भएको छ। हुथी समूहले यसको पुष्टि गरेपछि एक हुथी अधिकारीले इजरायलविरुद्ध ‘बदला’ लिने वाचा गरे।  

हुथी विद्रोहीले शनिबार एक विज्ञप्तिमा भन्यो, ‘बिहीबार सानामा भएको आक्रमणमा अहमद अल–राहवीको धेरै अन्य मन्त्रीसँगै मृत्यु भएको छ।’ समूहले नियन्त्रण गरेको विभाजित देशका क्षेत्रमा प्रधानमन्त्रीको रूपमा काम गरेका अल–राहवीलाई एक कार्यशालाको क्रममा हुथी नेतृत्वको सरकारका अन्य सदस्यसँगै इजरायलले लक्षित गरेर आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ।  

इजरायली आक्रमणमा अन्य कति मन्त्री मारिए भन्ने कुरा हुथीले खुलाएन। ‘हामी बदला लिनेछौं, र हामी घाउको गहिराइबाट विजय हासिल गर्नेछौं,’ यमनी राजनीतिज्ञ र सैन्य अधिकारी महदी अल–मशातले जारी गरेको भिडियो सन्देशमा भनिएको छ। उनी हुथीको सर्वोच्च राजनीतिक परिषद्को अध्यक्षको रूपमा कार्यरत छन्। इजरायली सेनाले सानामा गरेको आक्रमणलाई ‘हुथी आतंकवादी शासनको सैन्य लक्ष्य’ मा आक्रमण गरिएको भनेर दाबी गरेको छ।  

इजरायलले हालैका महिनामा बारम्बार हुथी विद्रोहीको अड्डालाई लक्षित गरेर आक्रमण गरेको छ। हुथीले इजरायल, ‘रेड सी’ र एडेनको खाडीमा पश्चिमी जहाजमा आक्रमण सुरु गरेको छ। त्यसलाई उसले गाजामा प्यालेस्टिनीलाई समर्थन गर्ने प्रदर्शन भएको बताउँदै आएको छ। उक्त समूहले बारम्बार इजरायली आक्रमणले उसको सैन्य कारबाही रोक्न नसक्ने चेतावनी दिएको छ।  

बुधबार हुथी विद्रोहीले दक्षिणी इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणको जिम्मेवारी लिए, जुन इजरायलले रोकेको बताए।

प्रकाशित: १५ भाद्र २०८२ ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App