यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको राजधानी रियादस्थित विमानस्थलमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय हवाई सेवा प्रभावित भएको छ।
सुरक्षाको चिन्ताका कारण युरोप, एसिया र खाडी क्षेत्रका विभिन्न एयरलाइन्सले साउदी अरेबिया जाने उडान स्थगित वा रद्द गरेका छन्। केही कम्पनीले नियमित उडान पुनः सुरु गर्ने मिति पनि सारेका छन्।
रोयटर्सका अनुसार रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल अक्टोबर १७ सम्म बन्द रहने गरी सूचना जारी गरिएको थियो। उडान विश्लेषण गर्ने संस्था सिरियमका तथ्यांकअनुसार आइतबार विमानस्थलका ९९.७ प्रतिशत निर्धारित उडान रद्द भएका थिए। सोमबार पनि करिब ६० प्रतिशत उडान रद्द हुने अनुमान गरिएको थियो। साउदी अरेबियाका अन्य विमानस्थलमा समेत उडान प्रभावित भएका छन्।
जर्मनीको लुफ्थान्सा समूहले रियाद जाने सबै उडान अक्टोबर १६ सम्म स्थगित गरेको छ। एयर फ्रान्स-केएलएमले साउदी राजधानी जाने तथा त्यहाँबाट फर्कने उडानमा लगाएको रोक अक्टोबर महिनाको अन्त्यसम्म लम्ब्याएको छ। संयुक्त अरब इमिरेट्सको इतिहाद एयरवेजले साउदी अरेबियाका लागि हुने उडान अक्टोबर १३ सम्म स्थगित गरेको छ।
भारतका इन्डिगो र एयर इन्डियाले रियाद तथा दम्माम जाने उडान अक्टोबर १५ सम्म रद्द गरेका छन्। अकासा एयरले रियाद र जेद्दाहका उडान अक्टोबर १३ सम्म स्थगित गरेको छ। बहराइनको गल्फ एयरले पनि रियाद जाने तथा त्यहाँबाट आउने उडान अक्टोबर १२ देखि १७ सम्म रद्द गरेको छ।
फिलिपिन्स एयरलाइन्सले रियाद जाने तथा त्यहाँबाट फर्कने उडान नोभेम्बर २९ सम्म स्थगित गरेको छ। हङकङको क्याथे प्यासिफिकले हङकङ-रियाद र हङकङ-दुबई रुटमा नियमित उडान पुनः सुरु गर्ने मिति जनवरी ३१, २०२७ सम्म सारेको छ। अमेरिकी डेल्टा एयरलाइन्सले एटलान्टाबाट रियादसम्म सिधा उडान सुरु गर्ने मिति अक्टोबर २३ बाट सारेर मार्च २०२७ पुर्याएको छ।
यसअघि कतार एयरवेजले रियाद र दम्माम जाने तथा त्यहाँबाट आउने उडान अस्थायी रूपमा स्थगित गरेको थियो। इतिहाद एयरवेजले पनि अबुधाबी र साउदी अरेबियाका रियाद, जेद्दाह तथा दम्मामबिचका केही उडान रद्द गरेको जनाएको छ।
फ्लाईदुबई, एमिरेट्स र एयर अरेबियाका उडानमा पनि रद्द तथा तालिका परिवर्तनका कारण असर परेको छ। श्रीलंकन एयरलाइन्सले रियादका उडान अक्टोबर १८ सम्म स्थगित गरेको छ भने एयर इन्डिया एक्सप्रेसले अक्टोबर १४ सम्म उडान रोकेको छ।
रियाद विमानस्थलमा भएका आक्रमणपछि साउदी अधिकारीहरूले हवाई प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र तथा ड्रोन रोक्न नसकेको कारणबारे अनुसन्धान थालेका छन्। आक्रमणले यात्रु तथा विमानस्थलको सुरक्षाबारे चिन्ता बढाएको छ। अमेरिकी उड्डयन प्रशासनले पनि आफ्ना एयरलाइन्सलाई साउदी अरेबिया र त्यसको हवाई क्षेत्र हुँदै उडान गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।
उडान स्थगनका कारण साउदी अरेबिया जाने तथा त्यहाँबाट अन्य देश जाने यात्रु प्रभावित भएका छन्। यद्यपि, सबै अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द भएका छैनन्। एयरलाइन्सहरूले सुरक्षा अवस्था र सम्बन्धित अधिकारीहरूको निर्देशनअनुसार उडान तालिका परिवर्तन गरिरहेका छन्। यात्रुलाई विमानस्थल जानुअघि आफ्नो उडानको पछिल्लो विवरण जाँच गर्न आग्रह गरिएको छ। एजेन्सीको सहयोगमा
प्रकाशित: २७ आश्विन २०८३ ०७:०२ मंगलबार


-600x400.jpg)


