१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतबाट हसिनाको चेतावनी : अवामी लिगबिनाको निर्वाचनले बंगलादेशमा विभाजनको बीज रोप्नेछ

फाइल तस्बिर

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतमा शरण लिएर बसेकी छन्। उनले अवामी लिगबिना हुने निर्वाचनले देशमा विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिएकी छन्।

एएफपीलाई लिखित जवाफमा उनले आफूमाथिको मानवता विरोधी अपराधको मुद्दालाई ‘न्यायको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ भन्दै आलोचना गरिन्।

सन् २०२४ अगस्टमा विद्यार्थी विद्रोहपछि उनको १५ वर्षे शासन समाप्त भएको थियो। भीडले सरकारी निवासमा आक्रमण गरेपछि उनी हेलिकप्टरबाट भागेकी थिइन्। संयुक्त राष्ट्रसङ्घका अनुसार, आन्दोलन दमनमा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो, जुन उनको मुद्दाको केन्द्रमा छ।

हसिनाले आरोपहरूलाई राजनीतिक प्रतिशोध ठान्दै भनिन्, ‘ममाथिका सबै आरोप अस्वीकार्य र प्रमाणरहित छन्। यो अनिर्वाचित सरकारको राजनीतिक षड्यन्त्र हो।’

उनले थपिन्, ‘अवामी लिगबिना हुने निर्वाचन विश्वसनीय हुँदैन। यस्ता कदमले देशमा अस्थिरता र विभाजनको बीज रोप्छ।’

मुहम्मद युनुसको नेतृत्वको अन्तरिम सरकारले अवामी लिगमाथि आतङ्कवाद विरोधी ऐनअन्तर्गत प्रतिबन्ध लगाएको थियो, जसलाई ह्युमन राइट्स वाचले ‘कठोर र अलोकतान्त्रिक’ भनेको छ।

हसिनाले स्वतन्त्र निर्वाचनका लागि सबै दलको सहभागिता आवश्यक ठान्दै भनिन्, ‘निर्वाचन विचारको प्रतिस्पर्धा हो। कुनै पार्टीलाई बहिष्कार गर्न सकिँदैन।’

उनले विद्रोहका दिन सम्झँदै भनिन्, ‘ती डरलाग्दा क्षणमा ज्यान गुमाउने सबैप्रति म शोक व्यक्त गर्छु।’ गल्ती स्वीकार गर्दै उनले भनिन्, ‘केही त्रुटि आदेशमा भए, तर निर्णयहरू हिंसा कम गर्ने उद्देश्यले गरिएका थिए।’

अभियोजनले हसिनाले प्रदर्शनकारीविरुद्ध ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको अडियो प्रमाण पेस गरेको छ, तर उनले त्यसलाई ‘सन्दर्भबाट बाहिर निकालिएको’ दाबी गरिन्।

उनले अवामी लिग कार्यकर्तामाथिको दमनलाई ‘राजनीतिक सफाया’ भन्दै भनिन्, ‘अपरेसन डेभिल हन्टमा हजारौँ कार्यकर्ता पक्राउ परेका छन्।’

बेपत्ता नागरिकको विषयमा उनले केही बोलेकी छैनन्। अवामी लिगका वकिलहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा ‘प्रतिशोधात्मक हिंसा’ को अनुसन्धान माग गरेका छन्।

नोभेम्बर १३ मा फैसला हुने मुद्दामा दोषी ठहरिए मृत्युदण्ड हुन सक्छ। हसिनाले भनिन्, ‘फैसला पहिल्यै तय भइसकेको छ, त्यसैले म आश्चर्यचकित हुन्न।’

राजनीतिमा फर्कने प्रश्नमा उनले भनिन्, ‘मेरो प्राथमिकता बंगलादेशको स्थिरता र जनकल्याण हो, व्यक्तिगत सत्ता होइन।’ एएफपी

प्रकाशित: १२ कार्तिक २०८२ १४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App