२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार नछोड्ने हमासको अडान

हमासले जेरुसेलम राजधानी बनाएर प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म निःशस्त्रीकरण नहुने अडान लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व राजदूत स्टिभ विटकफको भनाइ उद्धृत गर्दै हमासले निःशस्त्रीकरण गर्न इच्छा देखाएको दाबी गरिएको थियो।

हमासले विज्ञप्तिमा भनेको छ, ‘हामी पुष्टि गर्छौ कि कब्जा रहँदासम्म प्रतिरोध र हतियार वैध राष्ट्रिय र कानुनी अधिकार हुन्। यो अधिकार अन्तर्राष्ट्रिय कानुन र मान्यताले मान्छ। जेरुसेलम राजधानी बनाएर स्वतन्त्र, पूर्ण सार्वभौम प्यालेस्टाइन नबनेसम्म यसलाई छोड्न सकिँदैन।’ हमासले शुक्रबार गाजाको सहायता वितरण केन्द्रमा विटकफको भ्रमणलाई ‘पूर्वनियोजित नाटक’ भनेर निन्दा गरेको छ।

ट्रम्पका मध्यपूर्व राजदूत विटकफ र इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले विवादास्पद गाजा मानवीय फाउन्डेसन (जीएचएफ) ले सञ्चालित केन्द्रको भ्रमण गरेका थिए। हमासले यो भ्रमण ‘जनमत भ्रमित पार्न, कब्जाको छवि सुधार्न, र गाजामा भोकमरी र रक्षाहीन बालबालिका र नागरिकको हत्यालाई राजनीतिक आवरण दिन’ डिजाइन गरिएको भनेको छ।

विटकफले भने, ‘मैले गाजामा पाँच घण्टा बिताएँ।’ शुक्रबार एक्समा उनले भने, ‘भ्रमणको उद्देश्य राष्ट्रपति ट्रम्पलाई मानवीय अवस्थाको जानकारी दिन र गाजाका मानिसलाई खाना र चिकित्सा सहायता पुर्‍याउने योजना बनाउन सहयोग गर्नु थियो।’ गाजाका स्वास्थ्य अधिकारीले शनिबार इजरायली गोलीबारीबाट १८ जनाको मृत्यु भएको जानकारी दिए। 

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार, मे महिनादेखि जीएचएफ सहायता स्थल ‘वरपर’ कम्तीमा ८५९ जनाको मृत्यु भएको छ। ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा इजरायलमा एक हजार २०० जनाको मृत्यु भएको थियो। नेपालका विपिन जोशीसहित २५१ जनालाई अपहरण गरिएको थियो। धेरैलाई युद्धविराम वा सम्झौतामा रिहा गरिएको छ। 

बन्धकमध्ये अझै ५० जना हमासको नियन्त्रणमा छन्। जानकारीअनुसार २० जना मात्र जीवित रहेको विश्वास गरिएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली कारबाहीमा ६० हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन्। एजेन्सी

प्रकाशित: १७ श्रावण २०८२ २१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App