नेपाल नेत्रज्योति संघ ताप्लेजुङ तथा संघको समन्वयमा सञ्चालित आँखा उपचार केन्द्रमार्फत एक आर्थिक वर्षका झण्डै १८ हजार आँखाका रोगीले सेवा पाएका छन्।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा फुङलिङमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र सञ्चालनमा रहेको छ भने मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा दोभान आँखा उपचार केन्द्र सञ्चालनमा छ।
दोभान आँखा उपचार केन्द्रका लागि पछिल्लो समय मेरिङदेन गाउँपालिकाले आर्थिक साझेदारी गरेको छ। सञ्चालन सुरुवातका केही वर्षसम्म आठराई त्रिवेणी गाउँपालिकाले समेत आर्थिक साझेदारी गरेको थियो।
डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङका अनुसार क्लिनिकमा आर्थिक वर्ष २०८२/८३ मा ७ हजार १ सय ७५ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन्। गुरुङका अनुसार परीक्षण तथा उपचार गराउनेमा २ हजार ८ सय ३० पुरुष, ३ हजार ३ सय १८ महिला, ५ सय ४३ बालक र ४ सय ८४ बालिका रहेका छन्।
डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका प्राविधिकहरूद्वारा जिल्लाभरका ४५ वटा विद्यालयमा गरिएको विद्यालयस्तरीय आँखा जाँच तथा उपचार कार्यक्रममा ५ हजार ९ सय २५ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको छ। त्यसमध्ये ३ हजार ९९ बालक र २ हजार ८ सय ७ बालिका रहेका छन्।
यहाँका ९ स्थानीय तहका विभिन्न ८ वटा स्थानमा ५ सय ८६ पुरुष र ६ सय ८६ महिला गरी कुल १ हजार २ सय ७४ जना सेवाग्राहीले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्।
विभिन्न ३ स्थानमा गरिएको आँखा स्वास्थ्य शिविरमार्फत २ हजार ७ सय ६४ जनाको आँखाको परीक्षण गरिएको छ। शिविरमा १ हजार ४ सय ९० पुरुष र १ हजार २ सय ७४ महिला सेवाग्राही रहेको समेत गुरुङले जानकारी दिए।
एक आर्थिक वर्षको अवधिमा ३ सय ४२ जनाको आँखाको शल्यक्रिया गरिएको छ। शल्यक्रिया गरिएकामध्ये ३ सय ९ जनाको मोतियाबिन्दुको र ३३ जनाको आँखाको साधारण शल्यक्रिया गरिएको समेत गुरुङले जानकारी दिए।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङमार्फत एक आर्थिक वर्षको अवधिमा यहाँका विभिन्न स्थानीय तहका ७७ जनालाई प्राथमिक आँखा स्वास्थ्य सेवा सम्बन्धी अनुशिक्षण गराइएको छ। गुरुङका अनुसार ४२ जना महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहमा आबद्ध १७ जना, १६ जना स्थानीय क्षेत्रका अगुवा र १२ जना शिक्षक रहेका गुरुङले बताए।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङले तिलगंगा आँखा अस्पताल, विराटनगर आँखा अस्पताल, मेची आँखा अस्पताल र रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासहित निकायसँग शल्यक्रिया शिविरका लागि प्राविधिक सहयोग लिँदै आएको छ। सुरुमा लुम्बिनी रण अम्बिका आँखा अस्पताल, चितवन आँखा अस्पतालसहितका निकायले प्राविधिक सहयोग गर्दै आएका थिए।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङलाई शल्यक्रिया सहितको शिविर सञ्चालनका लागि सेवा फाउन्डेसन र यहाँका स्थानीय तहले समेत आर्थिक साझेदारी गर्दै आइरहेका छन्।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङको समन्वय र सम्बन्धित स्थानीय तहको आर्थिक साझेदारीमा पाँचथरको थर्पु र यासोकमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा छन्। थर्पुस्थित आँखा उपचार केन्द्रका लागि याङवरक गाउँपालिका र यासोकमा रहेको आँखा उपचार केन्द्रका लागि कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारी रहेको छ। पछिल्लो समयमा थर्पु र यासोकमा सञ्चालित आँखा उपचार केन्द्रको नियमन सम्बन्धित स्थानीय तहले नै गर्दै आइरहेका छन्।
दोभानमा रहेको आँखा उपचार केन्द्रको सञ्चालन तथा व्यवस्थापनका लागि मेरिङदेन गाउँपालिकाको अगुवाइमा स्थानीय व्यवस्थापन समिति गठन भई सञ्चालनमा रहेको छ।
दोभान आँखा उपचार केन्द्रबाट भने एक आर्थिक वर्षमा झण्डै १ हजार जना नागरिकले परीक्षण तथा उपचारको सेवा लिएको दोभान आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज सृजना चौधरीले जानकारी दिइन्।
प्रकाशित: १९ श्रावण २०८३ १८:४४ मंगलबार





