लगातारको अविरल वर्षा र हावाहुरीका कारण मधेस प्रदेशका विभिन्न जिल्लामा घर, गोठ तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ।
महोत्तरीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने सप्तरीमा मात्रै करिब दुई सय घरधुरीमा बाढिको पानी पसेको प्रहरीले जनाएको छ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता एसएसपि प्रभु प्रसाद ढकालले पछिल्लो समय परेको अविरल वर्षा तथा हावाहुरीका कारण मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरीका विभिन्न स्थानमा भौतिक क्षति भएको हो।
सबैभन्दा गम्भीर घटना महोत्तरीको मनरा शिसवा नगरपालिका–२ छौरिया टोलमा भएको छ। स्थानीय चन्द्रकलाको बाँसले बनेको फुसको छानो भएको एककोठे घर भासिएर बस्न नसक्ने अवस्थामा पुगेको छ। यस्तै, धनुषाको मिथिला नगरपालिका–११ आपगाछीमा पहिरोले राजन श्रेष्ठको घर पुरिएको प्रहरीले जनाएको छ।
पहिरोमा परेको परिवारका चार जनालाई सकुशल उद्धार गरिए पनि करिब ३५ वर्षीया कमला श्रेष्ठलाई मृत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उनको शव सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको छ।
लगातारको वर्षाका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९, ११ र १२ का कोशी बाँधको दक्षिणी–उत्तरी क्षेत्रमा बसोबास गर्ने करिब २०० घरधुरीको आँगनमा पानी पसेको प्रहरीले जनाएको छ।
यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित बीओपी बरसाइनको परिसर तथा आसपासका केही घरआँगनमा समेत पानी पसेको छ। प्रभावित क्षेत्रमा जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी इकाइबाट प्रहरी टोली परिचालन गरी उद्धार, क्षतिको विवरण संकलन र आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।
रौतहटको राजपुर नगरपालिका–९ बैरियामा विभिन्न व्यक्तिका घर तथा कटहरिया नगरपालिका–१ भसेढवा टोलमा लक्ष्मण राय यादवको दुईतले कच्ची घर अविरल वर्षाका कारण भत्किएर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
यस्तै मौलापुर नगरपालिका–४ पतौरामा भैँसीको गोठ तथा गरुडा नगरपालिका–६ गम्हरियामा घरसमेत वर्षाका कारण क्षतिग्रस्त भएको प्रहरीको विवरणमा उल्लेख छ।
पर्साको ठोरी गाउँपालिका–५ आठघरे टोलमा कान्छी स्याङ्बोको एकतले टिनको छानो भएको घरको जस्तापाता हावाहुरीले उडाएर पूर्ण रूपमा क्षति पुर्याएको छ।
बाराको कलैया उपमहानगरपालिका–२ कवहीमा अमिनी मियाँको इँटाको गारो तथा खपडाको छानो भएको घरको पूर्वपट्टिको गारो र छाना आंशिक रूपमा क्षतिग्रस्त भएको छ।सर्लाहीमा कच्ची घर, गोठ र संरचनामा क्षति सर्लाहीको विष्णु गाउँपालिका–५ फेनहारा, मलंगवा नगरपालिका–५ भाडसर, कौडेना गाउँपालिका–३ तथा ६ र चन्द्रनगर गाउँपालिका–१ लगायतका स्थानमा कच्ची घर, गोठ तथा अन्य संरचनामा आंशिकदेखि पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–३ अगिलेसवा मा समेत अविरल वर्षा तथा हावाहुरीका कारण भौतिक क्षति भएको छ।
प्रहरीले वर्षा र हावाहुरीका कारण थप जोखिम उत्पन्न हुनसक्ने भन्दै नदी, खोला तथा अन्य जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार जोखिम न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइमार्फत माइकिङ, प्रहरी गस्ती र सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। विपद्को अवस्था सिर्जना भए तत्काल उद्धार तथा सहयोगका लागि सम्बन्धित प्रहरी कार्यालयबाट उद्धार टोली परिचालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
प्रहरीले नदी–खोलाको किनार तथा जोखिमयुक्त स्थानमा नजान, आवश्यक सावधानी अपनाउन र विपद्को अवस्था आए तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित: ११ आश्विन २०८३ १४:१५ आइतबार


-600x400.jpg)


