सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक बिटमा कार्यरत विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग छलफल गर्दै सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन्।
मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पोखरेलले सरोकारवालाबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै आगामी दिनमा पनि यस्ता संवादलाई निरन्तरता दिइने बताए। उनले अन्तरमन्त्रालय समन्वयमार्फत आधिकारिक सूचना दिने व्यक्तिको व्यवस्था गरी सूचना प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाइने जानकारी दिए।
मन्त्री पोखरेलले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि मन्त्रालयले अल्पकालीन तथा दीर्घकालीन रणनीतिअनुसार महत्वपूर्ण कामको थालनी गरिसकेको पनि उल्लेख गरे।
सरकारी सूचना प्रवाह सुधार, पत्रकारहरूले सूचना संकलनका क्रममा भोगिरहेका चुनौती तथा सरकार–सञ्चारमाध्यमबीचको समन्वय सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
कार्यक्रममा सहभागी पत्रकारहरूले सरकारी सूचनामा सहज पहुँच सुनिश्चित गर्न, सूचना प्रवाहलाई थप सहजीकरण गर्न तथा सरकारका निर्णय र समसामयिक विषयमा नियमित अन्तरसंवादको वातावरण बनाउन सुझाव दिएका थिए । उनीहरूले सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले पत्रकारसँगको संवादलाई निरन्तरता दिँदै सूचना प्रवाहलाई अझ पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए ।
मन्त्री पोखरेलले पछिल्लो समय शिक्षा, सञ्चार तथा अन्य समसामयिक विषयमा सञ्चारमाध्यम, पत्रकार, शैक्षिक संस्था तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै सुझावका आधारमा नीतिगत सुधार, पारदर्शिता र प्रभावकारी समन्वयलाई प्राथमिकता दिँदै आएको बताए।
यसअघि पनि मन्त्री पोखरेलले शिक्षा बिटमा कार्यरत पत्रकार तथा सरकारी सञ्चारमाध्यमका प्रधान सम्पादक, समाचार प्रमुख तथा प्रतिनिधिहरूलगायतसँग छुट्टा–छुट्टै छलफल गर्नुभएको थियो ।
मन्त्रालयले यस्ता अन्तरक्रियाले सरकार र सञ्चारमाध्यमबीचको सहकार्यलाई थप प्रभावकारी र विश्वासिलो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
प्रकाशित: १९ श्रावण २०८३ १८:५१ मंगलबार





