सरकारी नीतिको विरोधमा देशव्यापी प्रदर्शन चर्किएपछि फ्रान्स सरकारले यस साता सम्भावित हिंसा नियन्त्रण गर्न ७० हजारबढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। गत साता भएका हिंसात्मक झडप र लुटपाटका घटनापछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको हो।
गृहमन्त्री लरेन्ट नुनेजका अनुसार शनिबार तैनाथ गरिने प्रहरीको संख्या गत हप्ताको तुलनामा १० हजारले बढी हो। प्रदर्शनलाई नियन्त्रणमा लिन एलिट युनिट, पैदल तथा घोडचढी प्रहरी, हेलिकप्टर, ड्रोन, बख्तरबंद गाडी र पानीको तोप (वाटर क्यानन) प्रयोग गरिनेछ। ‘हामी दंगा गर्ने, लुटेराहरू र हिंसात्मक कार्यमा संलग्न जोकोहीसँग पनि सम्झौता गर्ने छैनौं,’ गृहमन्त्री नुनेजले भने।
कर्फ्यू र सार्वजनिक भेलामा प्रतिबन्ध :
बढ्दो तनावलाई ध्यानमा राख्दै राजधानी पेरिसले सोमबारसम्मका लागि रात्रिकालीन कर्फ्यू थप गरेको छ। फ्रान्सको तेस्रो ठूलो शहर लियोनले मध्य भागमा भेला हुन प्रतिबन्ध लगाउँदै सार्वजनिक यातायात र कर्फ्यू लागू गरेको छ।
त्यस्तै, ओर्लिन्स शहरमा अति दक्षिणपन्थी ‘नेशनल र्याली’ पार्टीको महाधिवेशनलाई लक्षित गरी हुन सक्ने २० देखि ३० हजार मानिसको विरोध प्रदर्शनलाई रोक्न शहरको मुख्य भागमा भेला हुन प्रतिबन्ध लगाइएको छ।
राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार रक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन्। म्याक्रोनले अशान्तिका लागि ‘देशद्रोही’ अति वामपन्थी समूहहरूलाई दोषी ठहराएका छन्।
विद्यार्थी र ‘येलो भेस्ट’ आन्दोलनकारीको चेतावनी :
सरकारी प्रतिबन्धका बाबजुद फ्रान्सको राष्ट्रिय विद्यार्थी संघ र सन् २०१८ देखि सक्रिय ‘येलो भेस्ट’ आन्दोलनकारीहरूले शनिबार प्रदर्शन जारी राख्ने घोषणा गरेका छन्। प्रहरीले पेरिसमा युनियनहरूलाई सीमित मार्गमा मात्र प्रदर्शनको अनुमति दिएको छ भने अन्य र्यालीका अनुरोधहरू अस्वीकार गरिदिएको छ।
राष्ट्रिय विद्यार्थी संघले सरकारको कदमको आलोचना गर्दै भनेको छ, ‘म्याक्रोनले देशमा विरोध प्रदर्शन गर्ने स्वतन्त्रतालाई कुल्चिरहेका छन्।’
हालैका हप्ताहरूमा विद्यालयको अवस्था सुधारको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलनमा अहिले जीवनयापनको उच्च लागतबाट पीडित किसान, जलवायु कार्यकर्ता र सर्वसाधारण पनि जोडिएका छन्।
व्यापार र पर्यटनमा असर :
सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजधानी पेरिसका मुख्य पर्यटकीय स्थलहरू जस्तै लुभ्रे संग्रहालय र लुइस भिटन फाउन्डेसन शनिबार बन्द रहनेछन्। साथै, प्रसिद्ध ‘आर्ट बासेल’ कला मेला निर्धारित समयभन्दा दुई दिन अगावै शुक्रबार नै समाप्त गरिएको छ। प्रमुख शहरका व्यापारीहरूलाई आफ्ना पसल बन्द राख्न आग्रह गरिएको छ।
मानवअधिकारवादी संस्थाहरूको चिन्ता :
नागरिक प्रदर्शनमाथि लगाइएको प्रतिबन्धलाई लिएर एम्नेस्टी इन्टरनेशनल ले चिन्ता व्यक्त गर्दै यसलाई ‘अधिनायकवादी अभ्यास’ को संज्ञा दिएको छ। यस्तै, ह्युमन राइट्स वाच ले पनि भीड नियन्त्रण गर्ने क्रममा बालबालिकाहरू घाइते भएको रिपोर्टप्रति ध्यानाकर्षण गराएको छ।
न्याय मन्त्रालयका अनुसार गत शनिबारको हिंसात्मक प्रदर्शनयता हालसम्म २,७०० भन्दा बढी मानिसहरू पक्राउ परिसकेका छन्।
एएफपी /रोयटर्स
प्रकाशित: ७ कार्तिक २०८३ ११:३१ शनिबार





