७ कार्तिक २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भानुआटु नजिक शक्तिशाली भूकम्प

फाइल तस्बिर

प्रशान्त महासागरमा रहेको भानुआटु नजिक शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ। सुरुमा ७.२ म्याग्निच्युड अनुमान गरिएको भूकम्पको तीव्रता पछि घटाइएको हो।

संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भानुआटुको सोला सहरबाट करिब २०० किलोमिटर पश्चिममा समुद्रको सतहबाट १० किलोमिटर गहिराइमा थियो।

भूकम्पपछि भानुआटुको भूगर्भीय जोखिम विभागले तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा जान चेतावनी दिएको थियो। हवाईस्थित सुनामी चेतावनी केन्द्रले पनि तटीय क्षेत्रमा खतरनाक छाल आउन सक्ने जनाएको थियो। पछि सुनामीको चेतावनी हटाइएको छ।

यूएसजीएसका अनुसार उक्त क्षेत्रनजिक ६.३ म्याग्निच्युडको अर्को भूकम्प पनि गएको थियो। भानुआटुका पूर्वप्रधानमन्त्री अलातोई इस्माएल कालसाकाउले शनिबार पाँचवटा भूकम्प गएको र परकम्प आइरहेको बताएका छन्। उनले बासिन्दालाई सुरक्षित रहन आग्रह गरेका छन्।

भानुआटु प्रशान्त महासागर वरपर फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ बारम्बार भूकम्प जाने गर्छ। घटनाबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन।

प्रकाशित: ७ कार्तिक २०८३ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App