भारत, उत्तरी गोवाको अर्पोरास्थित ‘बर्च बाई रोमियो लेन’ नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाउनेमा चार जना नेपाली नागरिक पनि रहेका छन्। शनिबार राति विद्युतीय पटाका पड्केर ठुलो आगलागी हुँदा २० कर्मचारीसहित ५ पर्यटकको मृत्यु भएको थियो। उक्त घटनामा करिब ५० जना घाइते भएका छन्।
क्लबमा दमकल विभागको एनओसी नभएको र आगो सुरक्षा मापदण्ड पालना नगरेको खुलेको छ। अधिकांश मृत्यु निसास्सिएर भएको हो, किनकि पीडितहरू भुईँ तल्ला र भान्सामा फसेका थिए। साँघुरो गल्ली र ढोकाका कारण दमकल गाडीहरू ढिलो पुगेका थिए। राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले भने, ‘प्रारम्भिक अनुसन्धानबाट भित्र पटाका पड्काएको पत्ता लागेको छ।’ उनले मृतकका आफन्तलाई ५ लाख (भारु) र घाइतेलाई ५० हजार (भारु) दिने घोषणा गरेका छन्।
प्रहरीले क्लबका प्रमुख महाप्रबन्धक राजीव मोडक, महाप्रबन्धक विवेक सिंह, बार म्यानेजर राजीव सिंघानिया र गेट म्यानेजर रियांशु ठाकुरलाई पक्राउ गरेको छ। मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध एफआईआर दर्ता भएको छ। अर्पोरा–नागोआ पञ्चायतका सरपञ्च रोशन रेडकरलाई पनि हिरासतमा लिइएको छ।
सन् २०२३ मा क्लबलाई अनुमति दिने भूमिकाका लागि तत्कालीन पञ्चायत निर्देशक सिद्धि तुषार हरलंकर, गोवा राज्य प्रदूषण नियन्त्रण बोर्डकी सदस्य सचिव डा. शमिला मोन्टेइरो र गाउँ पञ्चायतका सचिव रघुवीर बागकरलाई निलम्बन गरिएको छ। सरकारले छानबिन समिति गठन गरी एक हप्ताभित्र प्रतिवेदन दिन भनेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दु:ख व्यक्त गरेका छन्। विपक्षी दलहरूले सावन्त सरकारको राजीनामा मागेका छन्। सावन्तले यस्ता घटना रोक्न कडा कारबाही गर्ने दाबी गरेका छन्।
प्रकाशित: २२ मंसिर २०८२ ११:४५ सोमबार





