युरोपेली सङ्घको जलवायु निगरानी निकायले मार्च महिनामा महासागरको तापक्रम झण्डै रेकर्ड स्तरमा पुगेको जनाएको छ। यसले पृथ्वीको तापक्रम झन् बढाउने सम्भावना भएको सङ्केत गरेको भन्दै उनीहरुले अत्यधिक गर्मी र चरम मौसम अवस्था बढाउन सक्ने चेतावनी दिएको छ।
प्रतिवेदन अनुसार मार्च महिनामा समुद्री सतहको औसत तापक्रम करिब २० दशमलव ९७ डिग्री सेल्सियस पुगेको थियो, जुन उक्त महिनाका लागि दोस्रो उच्च स्तर हो।
विज्ञहरूका अनुसार यस्तो तातो चक्रले प्रशान्त महासागरको पानी तातो बनाउँछ र यसले विश्वव्यापी तापक्रम वृद्धि तथा चरम मौसम निम्त्याउन सक्छ। हाल चिसो चक्र क्रमशः समाप्त हुँदै सामान्य अवस्थामा जाने र त्यसपछि फेरि तातो चक्र सुरु हुने अनुमान गरिएको छ।
वैज्ञानिकहरूले यी चक्रहरू प्राकृतिक भए पनि मानव गतिविधिका कारण बढ्दो दीर्घकालीन तापक्रमसँग मिलेर अझ गम्भीर असर पार्ने बताएका छन्। महासागरहरूले मानवद्वारा उत्सर्जित तापको ठूलो हिस्सा सोस्ने भएकाले पृथ्वीको जलवायु सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छन्।
समुद्रको तापक्रम बढ्दा शक्तिशाली आँधीबेहरी, भारी वर्षा, समुद्री सतह बढ्ने जस्ता असर देखिन सक्छन्। साथै, यसले दीर्घकालीन रूपमा समुद्री सतहको उचाइ बढाउन पनि योगदान पुर्याउँछ।
यसैबीच, उक्त निकायले मार्च महिना विश्वकै चौथो सबैभन्दा तातो महिना रहेको जनाएको छ, जहाँ तापक्रम औद्योगिक युगअघिको स्तरभन्दा करिब १ दशमलव ४८ डिग्री सेल्सियस बढी रहेको छ। युरोपका धेरै भागमा सामान्यभन्दा बढी तापक्रम देखिएको थियो भने अमेरिका, आर्कटिक र अन्य चिसा क्षेत्रहरूमा पनि असामान्य रूपमा उच्च तापक्रम मापन गरिएको छ।
अर्कोतर्फ, आर्कटिक क्षेत्रमा समुद्री बरफको मात्रा उक्त महिनाका लागि सबैभन्दा कम रहेको पाइएको छ, जसलाई जलवायु परिवर्तनको महत्वपूर्ण सङ्केतका रूपमा लिइन्छ।
प्रकाशित: २७ चैत्र २०८२ १५:३२ शुक्रबार





