इजरायली कारागार सेवाले सोमबार गाजामा युद्धविराम सम्झौताको एक भागको रूपमा करिब दुई हजार प्यालेस्टिनी बन्दीलाई रिहा गरेको बताएको छ।
एक विज्ञप्तिमा भनिएको छ, ‘देशभरका विभिन्न जेलबाट एक हजार ९६८ जना ‘आतंककारी’लाई आवश्यक प्रक्रियाका लागि ओफर र क्ट्जियोट जेलमा स्थानान्तरण गरिएको छ।’
‘जेलमा आवश्यक गतिविधिहरू पूरा भएपछि र राजनीतिक अधिकारीहरूको स्वीकृतिपछि रिहा गरिएका सबै प्यालेस्टिनी बन्दीलाई ओफर जेलबाट वेस्ट बैंक, पूर्वी जेरुसेलम र क्ट्जियोट जेलबाट केरेम शालोममा रिहा गरिएको छ।’ गाजातर्फ प्रवेश गर्ने एक स्थानलाई सङ्केत गर्दै विज्ञप्तिमा भनिएको छ।
इजरायल–गाजा युद्धविराम सम्झौता अनुसार यसअघि सोमबार नै प्यालेस्टिनी सशस्त्र लडाकू समूह (हमास) लगायतका अन्य समूहद्वारा सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणमा बन्धक बनाइ लगिएका बाँकी सबै जीवित बन्धकलाई रेडक्रसको जिम्मा लगाई गाजाबाट इजरायलतर्फ फिर्ता गरिएको थियो।
सम्झौता अनुसार सबै जीवित र मृत बन्धकलाई सोमबार नै फिर्ता गर्ने भनिए पनि मृतक र वेपत्ता भनिएका २८ मध्ये यो समाचार तयार पार्दासम्म चार जनाको मृत शरीर इजरायलतर्फ पठाइएको छ। एएफपी
प्रकाशित: २८ आश्विन २०८२ १०:२७ मंगलबार





