१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजा युद्धविराम : पाँच इजरायली बन्धकको शव फिर्ता हुन बाँकी

फाइल तस्बिर

इजरायलले शनिवार प्यालेस्टिनी लडाकुहरूले गाजाबाट फिर्ता पठाएको पछिल्लो बन्धक अवशेष पहिचान गरेको छ। यससँगै दुई वर्षको युद्ध रोकिएको अमेरिकी मध्यस्थतामा भएको हमास र इजरायलबिचको युद्धविराम अन्तर्गत थप पाँच शव मात्र फिर्ता गर्न बाँकी छ।

इजरायली सेनाले शुक्रवार हस्तान्तरण गरिएको शव स्वयंसेवक एम्बुलेन्स चालक लियोर रुडेफको भएको पुष्टि गरेको छ। उनी सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणमा मारिएका थिए।

शनिवार पहिचान भएको अवशेष अजेन्टिनी मूलका इजरायली नागरिकको भएको र उनी इजरायलमा हमासको रक्तपातपूर्ण आक्रमणको समयमा ६१ वर्षका थिए।

उनी आफ्नो समुदाय निर यित्जाक किबुट्जको रक्षा गर्ने प्रयास गर्दा मारिएका पाँच सशस्त्र नागरिकहरूमध्ये एक थिए।

इजरायली अधिकारीहरूले सन् २०२४ मेमा उनको मृत्यु भएको पुष्टि गरेका थिए। हमासले २८ मृत पूर्व बन्धकहरूको सूचीमा उनको नाम समावेश गरेका थिए। हमासले अक्टोबर युद्धविरामको सर्तहरू अन्तर्गत फिर्ता गर्न सहमत भएकामध्ये अहिलेसम्म २३ मृत बन्धकको अवशेष फिर्ता गरिसकेको छ भने २० जीवित बन्धकलाई पनि फिर्ता गरिसकेको छ।

सम्झौता अन्तर्गत फिर्ता गर्न बाँकी अझै पाँच शवमध्ये तीन इजरायली र एक थाई गरी चार अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइ लगेका व्यक्तिका हुन् र अर्को एक सन् २०१४ मा अघिल्लो गाजा द्वन्द्वको क्रममा युद्धमा मारिएका एक सिपाहीको अवशेष हो।

संकटमा फसेका इजरायली परिवारहरूको प्रतिनिधित्व गर्ने अभियान समूह ‘द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले मृतक रुडेफको अवशेषलाई स्वदेश फिर्ता गरिएकोमा स्वागत गरेको छ।

‘रूडेफको फिर्तीले दुई वर्षभन्दा बढी समयदेखि पीडादायी अनिश्चितता र शंकाको साथ बाँचिरहेको परिवारलाई केही हदसम्म सान्त्वना प्रदान गर्दछ,’ फोरमाले भनेको छ। ‘हामी अन्तिम बन्धकलाई घर नल्याएसम्म आराम गर्ने छैनौँ,’ फोरमले भनेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना मध्यस्थता गरेको गाजा युद्धविराम सम्झौताको पहिलो चरण बन्धक र कैदी आदानप्रदानको लागि तय भएको थियो।

सम्झौता अनुसार युद्धविराम योजनाको कडा गणित अन्तर्गत प्रत्येक मृत इजरायली बन्धकको लागि १५ मारिएका प्यालेस्टिनीहरूको शव फिर्ता गरिन्छ।

शनिवार खान युनिसस्थित नासेर मेडिकल सेन्टरले इजरायलले नियन्त्रणमा लिएको गाजा पट्टीबाट १५ जना शहीदहरूको शव आइपुगेको घोषणा गरेको छ। यो सँगै फिर्ता गरिएका मृत प्यालेस्टिनीको सङ्ख्या ३०० पुगेको छ।

पहिलेको स्थानान्तरणमा जस्तै रेडक्रसले प्यालेस्टिनी शवहरूलाई अस्पतालमा फिर्ता पठाएको थियो। प्यालेस्टिनी अवशेषहरू पहिचान नभएको अवस्थामा फिर्ता पठाइएको छ र धेरैलाई सामूहिक चिहानमा पुर्‍याइएको छ।

हमासको अख्तियार अन्तर्गत सञ्चालन हुने गाजाको स्वास्थ्य मन्त्रालयले प्राप्त ३०० प्यालेस्टिनी शवहरूमध्ये अहिलेसम्म ८९ जनाको मात्र पहिचान भएको बताएको छ। एएफपी

प्रकाशित: २३ कार्तिक २०८२ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App